युरो ४’ मापदण्डको इन्धन बजारमा
काठमाडौँ । आज देखि ‘युरो ४’ मापदण्डको इन्धन खरिद गर्न पाइने भएको छ । भारतीय आयल निगम आईओसीले शनिबार युरो ४ को इन्धन दिन थालेको हो । हाल बजारमा युरो ३ मापदण्डको इन्धन बिक्री हुन्छ । आयल निगमका अनुसार युरो ४ का लागि गत कात्तिकमा आईओसीसँग सौद्धान्तिक सहमति भएको थियो । गत साता निगम र आईओसीबीच ५ वर्षे इन्धन सम्झौता नवीकरण भएपछि युरो ४ मापदण्डको इन्धन आयात गर्ने बाटो खुलेको हो ।
निगमका बिक्री वितरण विभाग प्रमुख एव प्रवक्ता सीताराम पोखरेलका अनुसार शनिबार सिलगुढी, बरौनी र रक्सौल रिफाइनेरीबाट ४ हजार ९२ किलोलिटर इन्धन लोड भएको थियो । तीमध्ये ७ सय ९२ किलोलिटर पेट्रोल र ४ हजार ८ सय ८४ किलोलिटर डिजेल रहेको छ ।
‘सिलगुढीबाट पेट्रोल ८० किलोलिटर र डिजेल २ सय ८४ किलोलिटर, बरौनीबाट पेट्रोल ३ सय ४० किलोलिटर र डिजेल १८ सय ८ किलोलिटर र रक्सौलबाट पेट्रोल ३ सय ७२ र डिजेल २ हजार किलोलिटर लोड भएको छ । ‘ट्यांक आउँदै छन्,’ पोखरेलले भने, ‘सोमबारसम्म उपत्यका आइपुग्छ । इन्धन मंगलबारदेखि बजारमा पठाउनेछौं ।’
चैत २१ गते