महासंघको एसोसिएट्स उपाध्यक्षमा ढकाल सर्वसम्मत

काठमाडौं । निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको छाता संस्थाकोरुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्स तर्फको उपाध्यक्षमा चर्चित उद्यमी चन्द्र ढकाल सर्वसम्मत चयन हुनुभएको छ । महासंघको यही २७ र २८ चैतमा हुने साधारणसभाको अवसरमा निर्धारित समयसम्म ढकाल वाहेक अन्य कसैको पनि सो पदमा उम्मेदवारी नपरेपश्चात उहाँ सर्वसम्मत चयन हुनुभएको हो ।
विगत दुई दशकदेखि सक्रियरुपमा उद्योग व्यवसायमा लागेका ढकाल सवैसँग मिलनसार र मृदुभाषी हुनुकासाथै दुरदृष्टि राख्नसक्ने व्यक्ति भएकै कारण सवैको रोजाइमा पर्नुभएको हो । महासंघका वरिष्ठ उपाध्यक्षका आकांक्षी शेखर गोल्छा समूहवाट निर्वाचित भएका उहाँलाई वरिष्ठ उपाध्यक्षमा अर्का आकांक्षी किशोर प्रधान समूहले पनि साथ दिएको थियो ।
२०४५ सालमा वाणिज्य बैंकवाट आफ्नो जागिर सुरु गरेका ढकाल २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा लाग्नुभएको हो । जागिर खाँदैदेखि ब्यवसायमा लागेका ढकाल कर्मचारी भएकाले बैंकले व्यवसाय गर्न ऋण नदिएपछि जागिर छाडेर व्यवसायमा लागेको बताउनुहुन्छ । सरकारी जागिर छोडेर व्यवसाय सुरु गर्दा आफूले यति ठूलो सफलता हासिल गर्छु भनेर कहिल्यै नसोचको उहाँले वताउनुभयो । तर पनि आफूले हात हालेको काममा कहिल्यै समस्या झेल्नु नपरेकोले यो सफलता हासिलगर्न संभव भएको उहाँको भनाई छ ।
कसैलाई नबिझाउने र कहिल्यै विवादमा आउन नचाहने ढकाल यसअघि पनि दुई कार्यकालसम्म महासंँगको कार्यसमितिमा हुनुहुन्थ्यो । दुईमध्ये एकपटक सर्वसम्मत र एकपटक अत्याधिक मतका साथ उहाँ विजयी हुनुभयो । निर्वाचन समितिले सोमबार साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । एसोसिएटमा ढकालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महासंघको पदाधिकारीमा ढकालको प्रवेशलाई निकै महत्वका साथ हेरिएको छ । धेरैले उहाँलाई भावी अध्यक्षकारुपमा समेत हेरेका छन् ।
ढकाललाई दुबै समूहले आफ्नो दाबी गरेपछि उहाँलाई निर्विरोध बनाउने राजनीति शुरु भएको हो । ढकाललाई निर्विरोध बनाउन गोल्छा समूह र प्रधान दुबै समूह लागेको थियो । सिङगो निजी क्षेत्रकै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी साता हुने निर्वाचनका लागि अहिले महासंघका व्यवसायी बीच चुनावी सरगर्मी तीव्र भएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको समूहले आइतबार उम्मेदवारी दर्ता गराएको थियो भने प्रधान समूहले सोमवार उम्मेदवारी दर्ता गरायो ।
वरिष्ठ उद्यमी गोल्छा समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र वस्तुगत उपाध्यक्षमा उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो । महासंघको आगामी नयाँ नेतृत्वका लागि प्रधान समूहले एसोसिएट उपाध्यक्षतर्फ ढकाललाई नै समर्थन ग¥यो । प्रधानको समूहबाट उपाध्यक्ष उम्मेदवारहरूमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट प्रमोद श्रेष्ठ र वस्तुगततर्फ शंकर पाण्डेको मनोनयन दर्ता गरिएको छ ।
सरकारपछिको ठूलो सञ्जाल भएको निकाय हुनाले उद्योग वाणिज्य महासंघ र त्यसको नेतृत्वलाई निकै महत्वकासाथ हेरिन्छ । सोही कारण महासंघको नेतृत्वमा पुग्न व्यवसायीहरुले ठूलो कसरत गर्ने गर्दछन् । महासंघको नेतृत्वका लागि सामान्य तया व्यावसायिक अनुभव, व्यावसायिक नेतृत्व, नेतृत्व क्षमता, प्रस्ट दृष्टिकोण र अडान आदिलाई आधार मान्ने गरिएको छ । महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघको प्रतिनिधित्व रहन्छ । जसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फबाट १ सय ४ वटा संस्था महासंघमा आबद्ध छन् । यिनीहरूको मतदानमा ५० प्रतिशत हिस्सा हुन्छ । यस्तै, महासंघको वस्तुगततर्फ ९९ वटा संस्था सदस्य छन् । उनीहरुको २० प्रतिशत हिस्सा हुन्छ । यसैगरी, एसोसिएटतर्फको संख्या ८ सय ५६ र ३० प्रतिशत हिस्सा रहनेछ ।
चैत २२ गते ।
चैत २२ गते ।