२ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन सरकारलाई आजसम्मको अल्टिमेटम, सरकारले नगरे आयोगले अब नपर्खने

काठमाडौं । निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै आज केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले अल्टिमेटम दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी आज २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गर्नुभयो । निर्वाचन अधिकृतहरूका लागि आयोजित तालिममा प्रमुख आयुक्त यादवले सरकारलाई शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइसक्न आग्रह गर्नुभएको थियो ।
कार्यतालिका नै प्रभावित हुनेगरी आयोग पर्खिन सक्दैन । प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, आजै साँझसम्म, नभए भोलिभित्र मतदान केन्द्रको टुंगो लगाउनुहोस्ु, कार्यक्रममा प्रमुख आयुक्त यादवले भन्नुभएको थियो ।
चैत २५ गते ।