लेखा समितिमा प्रचण्डको वयान : एनसेललाई लाभकर छुट दिइएको छैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐन सेलको पुँजीगत लाभकर छुट नदिएको भन्दै जसरी पनि असुल उपर गरिने प्रतिवद्धता जनाउनुभएको छ । व्यवस्थापिका संसदको लेखा समितिको आजको बैठकमा बयान दिँदै प्रधानमन्त्री प्रचण्डले पुँजीगत लाभकर उठाउने बारेमा सरकार गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।
कर असुलीबारे सोचिरहेका बेला प्रधानमन्त्रीको नाममा विक्रेताबाट लिनुपर्नेमा क्रेताबाट लिने काम गरियो भन्ने पत्र प्राप्त भएपछि आफुले त्यसमा टिप्पणी उठाएर अर्थमन्त्रालयमा पत्र पठाएको र अर्थमन्त्रीले मौखिक रुपमा मन्त्रीपरिषदमा सो विषय प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।
उहाँले करका सम्बन्धमा औपचारिक ढंगले अर्थ मन्त्रालयबाट प्रस्ताव नै नआएकाले औपचारिक निर्णय केही नभएको दावी गर्नुभयो।
मन्त्रीपरिषदमा छलफल केबल विषयको गम्भीरतालाई अगाडि लैजान भएको भन्दै उनले विक्रेताबाट लाभ कर उठाउने विषयमा कहा त्रुटी भयो भनेर छलफल भएको तर मिडियामा आए जस्तो औपचारिक निर्णय केही नभएको दावी गर्नुभयो । ।
एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिन निर्णय मन्त्रीपरिषद्ले गरेको समाचार बाहिर आएपछि सो निर्णयबारे बुझ्न समितिले प्रधानमन्त्री दाहाललाई बोलाएको हो ।
सो बारे अर्थमन्त्री कृष्णबहादुर महरा र राजस्व सचिव राजन खनालले दिएको जवाफ चित्त नबुझेपछि समितिले प्रधानमन्त्रीलाई नै बैठकमा बोलाएको हो ।
चैत २७ गते ।