बालुबाटर बैठक अचानक रद्द, नयाँ संशोधन प्रस्तावमा सहमति नगरी तयार पारिएको खुलासा

काठमाडौं । मधेसी मोर्चासँग संविधान संशोधनबारे छलफल गर्न आजबिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक रद्द भएको छ । मोर्चाका शीर्ष नेताहरु बालुवाटार जाने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सचिवालयले बैठक रद्द भएको सूचना दिएको हो । ‘हामीलाई प्रधानमन्त्रीज्युले बिहान १० बजे बालुवाटारमा बैठक बस्न आउनुहोला भन्नुभएको थियो’ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो,‘तर, अकस्मात बैठक क्यान्सिल भएको सूचना आयो ।’

बैठक बोलाएर रद्द हुनुको कारणबारे आफूलाई जानकारी नभएको महतोले बताउनुभयो ।

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्तावमा सोमबार नै सहमति जुटाउने र संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको चुनावी अभियानमा दाङमा हुनुहुन्छ । एमाले अध्यक्ष केपी ओली बैंकक जानुभएको छ भने मोर्चाका नेता महन्थ ठाकुर पनि राजधानी बाहिर हुनुहुन्छ ।
नयाँ संशोधन प्रस्तावमा छलफल हुन र सहमति जुटाउन बाँकी रहेको खुलासा भएको छ । प्रचण्डले एमाले र मोर्चासँग कुरा गरेर नयाँ प्रस्ताव तयार गरेको बताए पनि त्यो झूठो भएको एमाले र मोर्चाको दावी छ ।
चैत २८ गते ।