मधेसी मोर्चाले नयाँ संशोधन प्रस्ताव पनि नमान्ने,संसद् बैठक बहिष्कार,संसद् बैठक बैशाख ७ गते सम्मका लागि स्थगित,एमालेको पनि असहमति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चासँग छलफल र सहमति गरी संविधान संशोधनका नयाँ प्रस्ताव तयार गरिएको प्रचार र दावी प्रधानमन्त्री प्रचण्डले गरे पनि त्यसमा कुनै सत्यता भएको र नयाँ प्रस्तावमा कुनै छलफल र सहमति नभएको ती दलले बताएका छन् । एमालेले राष्ट्रिय सभाको अधिकार कटौती हुने गरी तयार गरिएको यो प्रस्ताव स्वीकार हुन नसक्ने जनाइसकेको छ ।
मधेस केन्द्रीत दलले मंगलबारको व्यवस्थापिका संसदको बैठक समेत वहिष्कार गरेका छन् ।मधेस केन्द्रीत दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतलाई चित्त बुझ्ने गरी संविधान संसोधनको अर्को विधेयक ल्याएको सरकारले दाबी गरिरहेको बेला मधेसी दलले संसद बहिस्कार गरेका हुन् ।
संसद् बैठक बैशाख ७ गते सम्मका लागि स्थगित गरिएको छ ।
व्यवस्थापिका संसदमा विचाराधिन संविधानको दोश्रो संसोधन विधेयक फिर्ता गरी अर्को ल्याउने तयारीको मधेस केन्द्रीत दलले विरोध समेत गरेका छन् ।
उता तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय प्रवक्ता विमल श्रीवास्तवले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर आज दर्ता गर्न लागेको नयाँ संशोधन प्रस्तावमा समेत मोर्चाको समर्थन नरहने बताउनुभयो ।संसदमा विचाराधिन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव ल्याउनेबारे मोर्चासँग सरकारको कुनै सहमति नभएको पनि बताउनुभयो । प्रवक्ता श्रीवास्तवले मोर्चाले राखेको प्रस्तावको टुंगो नलागेसम्म आफूहरु निर्वाचनमा नजाने बताउनुभयो । ।विरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले सरकारले गरेको एकलौटी निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभयो ।
चैत २९ गते ।