अनौपचारिक अर्थतन्त्रको आकार भण्डै ५० प्रतिशत रहेको

काठमाडौं, ११ बैशाख । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले अनौपचारिक अर्थतन्त्रको आकार भण्डै ५० प्रतिशत रहेको पाइएको वताएका छन् । राजस्व परामर्श समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वोल्दै मन्त्री महराले त्यसलाई प्रणालीमा ल्याउन समस्या रहेको उल्लेख गरे ।
हाम्रो देशको अर्थतन्त्र आधा त बाहिर नै रहेछ भन्दै महराले पुन बिस्तार गर्दै अनौपचारिक अर्थतन्त्र आधा जस्तै रहेकोले त्यसलाई प्रणालीमा ल्याउने चुनौती रहेको स्पष्ट पारेका छन् । उनले आफु त्यसमा लागि परेको जानकारी दिए । अर्थतन्त्रमा ब्रेक थ्रू गर्ने आफ्नो उदेश्य भएकोले यसको लागि तरिका सिकाईदिन उनले व्यवसायीहरुलाई आग्रह पनि गरे ।
यस पटकको बजेट क्रम भंग गर्ने खालको नै आउने दाबी पनि मन्त्री महराको रहेको छ । ‘अहिले स्थानीयको चुनाव हुदैछ, कार्तिक मंसिर ताका प्रादेशिक तहको र माघमा केन्द्र तह निर्वाचन हुने भएकोले अहिले बजेट ल्याउदा त्यसैपनि पहिलेको परम्परागत शैली क्रम भंग गर्ने खालको नै हुनेछ,’ मन्त्री महराले भने ।
त्यसक्रममा राजस्व् सचिव राजन खनालले औद्योगिक क्षेत्रमा यसअघि दिइएका बिभिन्न सविधामा पुनरबिचार गर्नुपर्ने अवस्था आएको वताए । कार्यक्रममा व्यवसायीहरुले पहिलो पटक एउटै सामुहिक प्रतिवेदन वुझाएका थिए । त्यसक्रममा सचिव खनालले प्रशासनिक सुधारले मात्रै आर्थिक वृद्धि गर्न नसकिने देखिएकोले सरकारले आर्थिक नीतिहरुमा पनि सुधार गरिरहेको स्पष्ट पारे । राष्ट्रिय योजना आयोजका सदस्य डा. स्वर्णिम बाग्लेले सरकारले भौतिक पुर्वाधार निर्माण र नीतिगत पुनरसंरचनाले नै आर्थिक वृद्धि हुने भएकोले यसमा लाग्नु पर्ने औल्याए ।