७९ स्थानीय तहको मतगणना कार्य सुरु, मनाङमा पहिलो पटक एमालेको जित

maitrinews

 

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको मतदानको मतगणना सुरु भएको छ । मतगणना सुरु भएको धेरै स्थानमा नेकपा एमालेले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ । 

निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ६ का ५१ स्थानमा मतपेटिका सङ्कलनको काम भइरहेको जनाइएको छ ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिका ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको आयोगले जनाएको छ ।

सो घटनामा घाइते भएकालाई उपचारार्थ हेलिकप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ । काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ । कालीकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।

भर्खरै सकिएको मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताउनुभयो ।

यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो ।

२०७४ जेठ १ गते ९स्५१ मा प्रकाशित मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमालेको अग्रता कामयै रहेको छ । वडा नम्बर पाँचको नौसय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले तीनसय १७, उपमेयर उम्मेदवार कल्पना बलामीले तीनसय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवन प्रशाद आचार्यले बताउनुभयो ।
काँग्रेस, माओवादी केन्द्र एलाइन्सका मेयर उम्मेदवार लवशेर विष्टले दुईसय ५९ र उपमेयर उम्मेदवार खड्ग गोपालीले एकसय ८५ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । थाहामा राती एक बजेदेखि मत गणना जारी छ ।राप्रपाका मेयर उम्मेदवार हरेराम कार्कीले दुई मत प्राप्त गर्नुभएको छ । थाहामा ७५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता मकवानपुरको पूर्वी बाग्मती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । बाग्मती १ को प्रारम्भिक मतगणना अनुसार बाग्मती गाउँपालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार सर्केश घलानले एकसय ८४,उपाध्यक्षका उम्मेदवार बच्चुमाया गोलेले एकसय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष उम्मेदवार राजकुमार तिमल्सिनाले एकसय ६९, उपाध्यक्षका उम्मेदवार धनीमाया थिङले एकसय ७२,नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार चोक बहादुर ठाडा मगरले एकसय ३९,उपाध्यक्षका उम्मेदवार सुमित्रा राईले एकसय ५२ मत प्राप्त गरेको उहाँले बताउनुभयो । त्यस्तै राप्रपाका अध्यक्ष उम्मेदवार दिल बहादुर बलले एकसय २३ मत प्राप्त गरेको छ ।
नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।
विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा ९एमाले०का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याउनुभएको छ ।
त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा ९एमाले०का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा ९माओवादी केन्द्र०का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गर्नु भएको छ ।
ललितपुरको महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।
जेठ १ गते ।