चुनावी तालमेल : फाइदा एमालेलाई, काँग्रेस—माओवादीलाई गलपासो बन्दै

maitrinews

 

काठमाडौँ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लाका २८१ स्थानमा वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत अहिले करिब ९० स्थानीय तहको मतगणना सम्पन्न हुँदा नेकपा एमाले मुलुकका चारवटै नगरपालिकासहित पहिलो स्थानमा अग्रता लिइरहेको छ । नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थान रहेको छ । एमालेलाई पाखा लगाउने गलत मनसायसहित अपवित्र तालमेल गरेका सत्ता गठबन्धन माओवादी केन्द्र र काँग्रेसलाई यो तालमेल गलपासो बन्दै छ । अहिलेकै रफ्तारमा जित्दै जाने हो भने एमालेले चार महानगरपालिकासहित धेरै स्थान जित्ने देखिएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रमुख चार पार्टीले एक आपसमा चुनावी तालमेल गरे । आफूलाई पायक पर्ने स्थानीय ठाँउमा सबै पार्टीहरुले एक अर्कासँग तालमेल गरेका छन्।
यी तालमेलहरु मध्ये सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पोखरा महानगरपालिका र भरतपुर महानगरपालिको तालमेल चर्चित बन्यो। त्यस्तै, प्रमुख विपक्षी नेकपा एमाले तथा संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच काठमाडौं र ललितपुर महानगरपालिकामा अन्तिम समयमा आएर बनेको चुनावी तालमेल पनि चर्चित रह्यो ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रलाई सरकारको प्रमुख घटक नेपाली कांग्रेसले भरतपुरमा मेयरमा सघाएको छ भने उपमेयरमा माओवादीले कांग्रेसलाई सघाएका छ। त्यस्तै पोखरामा कांग्रेसलाई माओवादी केन्द्रले मेयरमा सघाएको छ तर उपपमेयरमा दुवै पार्टीले उम्मेदवारी दिएका छन्।
यी दुई दलले मकवानपुर, धादिङ, दोलखा लगायतका जिल्लाका गाउँपालिका र नगरपालिकामा समेत चुनावी तालमेल गरेका छन्। यो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा समेत दुई पार्टीको चुनावी तालमेल भएको छ।
यी तालमेलले पार्टीहरुलाई खासै फाइदा भएको देखिएको छैन। मतपरिणाम सँगै पार्टीहरुमा एक अर्कालाई धोका दिएको भन्दै स–सानो स्वरमा आरोप प्रत्यारोप शुरु भएको छ। यी सबै तालमेल मध्य सर्बा्धिक चासोका साथ भरतपुर महानगरपालिकालाई हेरिएको छ।

भरतपुरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा कांग्रेसले सघाएको छ। उपमेयरमा कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले सघाएको छ। कांग्रेसको बलियो पकड मानिएको भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञावलीले निरन्तर अग्रता लिइरहेका छन् ।

मतगणनाको प्रारम्भिक चरण नै सोचेजस्तो नभएपछि काँग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको छ ।
पोखरामा पनि कांग्रेस र माओवादी केन्द्रको तालमेलका वाबजुत एमालेल नै अग्रता लिएको छ। पोखरा–लेखनाथको मेयर पदका लागि माओवादी केन्द्रले कांग्रेसका रामजी कुँवरलाई सघाएको थियो। तर यहाँ एमालेका मानबहादुर जिसीले सुरुदेखि नै अग्रता लिएका छन्।
काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता लिएका छन् भने ललितपुरमा पनि एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले कांग्रेसका चिरीबाबु महर्जनसँग कडा प्रतिस्पर्धा भइरहँदा राप्रपाका उपमेयरका उमेदवार बाबुकाजी श्रेष्ठ भने निकै पछि रहेका छन्। काठमाडौं र ललितपुरमा उपमेयर पदमा पनि एमालले सूर्यमा नै मतदान गरेका छन् भने भरतपुरमा कांग्रेसका मतदाताले मेयरमा रुखमा छाप हानेका छन्।

यसरी चुनावी गठबन्धनले काम नगरेपछि शुरुमा तालमेल गर्दा दंग परेका नेता कार्यकर्तामा चुनावको प्रारम्भिक परिणामसँगै गठबन्धनसँग मोहभंग हुने क्रम देखिएको छ। यो तालमेलले तुलनात्मक रुपमा अन्तत : एमालेलाई फाइदा पुग्ने र काँग्रेस र माओवादीबीच मोहभंगमात्र होइन तनावै बढ्ने सम्भावना बढ्दै छ ।