ललितपुर महानगर मेयरमा कांग्रेसका महर्जन ३६५ मतअन्तरले विजयी
ललितपुर महानगरपालिकामा अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्। मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका कांग्रेस सांसद चन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ। त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये प्रतिस्पर्धाका हिसाबले ललितपुर रोमाञ्चक रह्यो। काठमाडौं, पोखरा र भरतपुर महानगरमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच फराकिलो मतअन्तर रहँदै आएकोमा ललितपुरमा भने दुवै उम्मेदवारबीच यस्तरी ‘नेक टु नेक’ प्रतिस्पर्धा भयो, जुनसुकै बेला पासा पल्टिन सक्थ्यो। त्यसमाथि झिनो अन्तरले भए पनि नेपाली कांग्रेसले अग्रता लिइरहेको एकमात्र महानगर यही थियो।