गोरखामा ‘अफ्रिकन स्वाइन फिभर’ महामारी: २५० भन्दा बढी सुँगुर/बङ्गुर मरे

गोरखा, १६ असार । गोरखा जिल्लामा विगत दुई महिनादेखि फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’का कारण सुँगुर तथा बङ्गुर पालन गर्ने किसानहरू ठूलो मारमा परेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार सङ्क्रमणका कारण हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन्।

केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाका विभिन्न क्षेत्रमा यो रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ।

तथ्याङ्कअनुसार गोरखा नगरपालिका–६ का किसान राजकुमार श्रेष्ठको फार्ममा सबैभन्दा धेरै ८० वटा बङ्गुर मरेका छन्। यस्तै, सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा र मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्ममा दुई साताकै अवधिमा ६० वटा बङ्गुर मरेका छन्। हालसम्म गोरखा नगरपालिकाका ६, ७ र ८ वडा तथा सहिद लखन गाउँपालिका–७ मा सङ्क्रमण पुष्टि भएको छ।

कार्यालय प्रमुख कोइरालाका अनुसार यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार वा खोप उपलब्ध छैन। “सङ्क्रमण भएपछि सुँगुर/बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ,” कोइरालाले भन्नुभयो, “मानिसको आवतजावत, दाना र औषधिको लसपसबाट यो रोग सजिलै सर्ने भएकाले जैविक सुरक्षा (बायो-सेक्युरिटी) नै यसबाट बच्ने एक मात्र उपाय हो।”

कतिपय फार्महरू दर्ता नगरी सञ्चालन गरिएको हुनाले मृतक बङ्गुरको वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुन सक्ने केन्द्रको अनुमान छ।

सङ्क्रमित सुँगुर/बङ्गुरमा देखिने लक्षणबारे किसान धनकुमार गुरुङले जानकारी दिँदै भन्नुभयो, “सुरुमा उच्च ज्वरो आउने, दाना खान छाड्ने, सुस्त हुने र शरीरमा नीलो/रातो धब्बा वा दागहरू देखिने गर्दछ। यस्तो लक्षण देखिएको एक साताभित्रै बङ्गुर मर्ने गरेको छ।”
विज्ञहरूले रोग नियन्त्रणका लागि सङ्क्रमित फार्ममा अन्य व्यक्तिलाई प्रवेश नदिने, खोरलाई नियमित निःसङ्क्रमण गर्ने र मरेका बङ्गुरलाई सुरक्षित तवरले खाडल खनेर पुर्न सुझाव दिएका छन्। सङ्क्रमण देखिएको क्षेत्रबाट सुँगुर/बङ्गुरको ओसारपसार नगर्न समेत केन्द्रले सचेत गराएको छ।