रसुवा भन्सार कार्यालयबाट ९ महिनामा साढे ३ करोडको अवैध सामग्री बरामद
रसुवा, १६ असार । रसुवा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त सक्रियतामा चालु आर्थिक वर्षको नौ महिनामा साढे तीन करोड रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद गरिएको छ। साउनदेखि चैत मसान्तसम्मको अवधिमा रसुवा भन्सार, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले गरेको विभिन्न अप्रेसनका क्रममा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको हो।
राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत भन्सार र सुरक्षा निकायले उत्तरी नाकाबाट हुने अवैध आयातमा कडाइ गरेपछि ठूलो परिमाणमा सामग्री बरामद भएको हो।
भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार यस अवधिमा तीनवटै निकायले छुट्टाछुट्टै र संयुक्त रूपमा जाँच तथा छापा मारेका थिए। जस अन्तर्गत: सशस्त्र प्रहरी बल (नम्बर २० गुल्म): २३ पटक छापा तथा जाँच गरेकाे थियाे भने, जिल्ला प्रहरी कार्यालय: १९ पटक छापा तथा जाँच, रसुवा भन्सार कार्यालय: १५ पटक छापा तथा जाँच गरेकने थियाे ।
बरामद गरिएका सामग्रीहरूमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप र चुरोट लगायत रहेका छन्। भन्सार कार्यालयका अनुसार बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा उपभोग्य खाद्य वस्तुको रहेको छ।
बरामद गरिएका सामग्रीमध्ये बिक्रीयोग्य वस्तुलाई अन्तर्राष्ट्रिय बजार मूल्य र मूल्य निर्धारण समितिको निर्णयका आधारमा लिलाम गरिनेछ भने खान अयोग्य ठहरिएका वस्तुलाई सरोकारवालाको रोहवरमा नष्ट गरिने सूचना अधिकारी गैह्रेले जानकारी दिए।
सुरक्षा निकायले जाँचका क्रममा बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलाई समेत तस्करीमा प्रयोग गरेको फेला पारेको छ। गत चैत ६ गते आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ल्याउँदै गर्दा बेत्रावतीबाट चालक पक्राउ परेका थिए। अवैध क्रियाकलापमा संलग्न ती चालक धरौटीमा रिहा भइसकेका छन् भने एम्बुलेन्सलाई गाउँपालिकाको जिम्मा लगाइएको भन्सार कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख अशोक थापाले प्रहरीको गस्ती र सवारी जाँचलाई थप प्रभावकारी बनाइएको भन्दै अवैध आयात रोक्न कुनै सम्झौता नगर्ने बताएका छन्। चीनसँगको व्यापारिक नाका रसुवागढीबाट हुने राजस्व छली रोक्न आगामी दिनमा पनि संयुक्त अनुगमनलाई निरन्तरता दिइने भन्सार अधिकारीहरूको भनाइ छ।