सुनकोशीको कटानले धाप्लाङघाट बस्ती जोखिममा : बजेट विनियोजन भए पनि स्थानीय त्रसित

काठमाडौँ, असार १६ । वर्षायाम सुरु भएसँगै खोटाङ र उदयपुरको सिमानामा पर्ने धाप्लाङघाटवासी बाढी र कटानको त्रासमा रात कटाउन विवश भएका छन् । खोटाङको बराहपोखरी गाउँपालिका २ सुन्तलेस्थित यो व्यापारिक केन्द्र सुनकोशी नदीको निरन्तर कटानका कारण जोखिममा परेको हो ।

बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको धाप्लाङघाटमा हाल १८ परिवारको बसोबास छ । यहाँ मगर, दाहाल खत्री, श्रेष्ठ, माझी, परियार र तामाङ समुदायले होटल तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् । बलौटे माटो रहेको यस क्षेत्रमा नदीले कटान गरेपछि अहिले करिब २५ मिटर अग्लो असुरक्षित भीर बनेको छ ।

स्थानीय गणेशबहादुर मगरका अनुसार वि.सं. २०८१ असोज १२ गते आएको भीषण बाढीपछि कटानको समस्या भयावह बनेको हो । बाढीले करिब ३० मिटर जमिन कटान गरिसकेको र ठूलो वर्षा हुनासाथ बस्ती नै विस्थापित हुने डरले स्थानीयहरू सुरक्षित स्थानमा भेला भएर रात काट्ने गरेका छन् ।

बस्ती संरक्षणका लागि सङ्घीय सरकारबाट यस वर्ष १ करोड ७६ लाख रुपियाँ बजेट विनियोजन भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो बहुवर्षे योजनामा परेको छ । गाउँपालिकाको स्रोतले मात्र संरक्षण सम्भव नभएकाले सङ्घीय बजेटमार्फत चाँडै ठेक्का आह्वान गरी तटबन्ध निर्माणको काम अगाडि बढाउने तयारीमा छौँ ।’ स्थानीयले भने सुरक्षित बसोबासका लागि नदी किनारमा ‘मेसिनरी वाल’ (पक्की पर्खाल) लगाउनुपर्ने माग गर्दै आएका छन् ।

दश वर्षदेखि पुल अलपत्र
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको काम एक दशकदेखि सुस्त गतिमा चल्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । वि.सं. २०७३ असार ३० गते सम्झौता भई २०७४ भदौमा शिलान्यास गरिएको यो पुल निर्माणको जिम्मेवारी ‘स्वच्छन्द-रसुवा-पप्प जेभी’ ले लिएको थियो । सङ्घीय सरकारको २१ करोड ६५ लाख रुपियाँ लागतमा निर्माणाधीन यो पुल निर्माण कम्पनीको लापरवाहीका कारण लामो समय अलपत्र परेको हो ।

पछिल्लो समय थपिएको म्याद अनुसार वि.सं. २०८४ जेठ १९ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ । कुल ६ वटा पिलरमध्ये हालसम्म चारवटा मात्र निर्माण भएका छन् । पुल नहुँदा खोटाङ र उदयपुर जोड्ने सडक सञ्जाल पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

गाउँपालिकाका उपाध्यक्ष भूबलराज राईका अनुसार पुल अभावमा स्थानीय उत्पादनको निर्यात र दैनिक उपभोग्य वस्तुको ढुवानी निकै महँगो भएको छ । ‘पुल नहुँदा हामी एक किसिमको नाकाबन्दीको अवस्थामा छौँ’ उहाँले भन्नुभयो, ‘कामले पछिल्लो समय केही गति लिए पनि समयमै सम्पन्न गराउन निरन्तर खबरदारी आवश्यक छ ।’

पुल निर्माण सम्पन्न भएमा खोटाङका बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकासहित भोजपुरका केही क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । तर, वर्षायामको बाढी र कामदारको अभाव देखाउँदै निर्माण कम्पनीले तत्काल कामलाई तीव्रता दिने सङ्केत नदेखिएको स्थानीयको गुनासो छ ।