मध्यरातमा नेपाली बन्धक बनाउने भारतीय प्रहरीका डिएसपीसहित ७ पक्राउ

डोटी । बुधबार मध्यरातमा एक नेपालीलाई बन्धक बनाई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीलाई पक्राउ गरिएको छ । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको सातजनाको टोली पक्राउ परेको हो ।
  
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्धक बनाइएका आउजीलाई पनि प्रहरी कार्यालयमा छुट्टै हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे पत्रकारलाई कुनै सूचना दिएको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले घटनाबारे जानकारी दिन नमिल्ने बताएका छन् ।