माओवादी हिंसा : बाँदरमुढे घटनाका पीडितले अहिलेसम्म न्याय पाएनन्

चितवन । माओवादीले गराएको त्रासदीपूर्ण हिंसाको शिकार बनेका सर्वसाधारणहरु चितवनको बाँदरमुढे खोलाको छेउमा गाउँलेहरुले आज एउटा शोकसभा आयोजना गरेका छन् । १२ वर्षअघि माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान पौने ८ बजे माओवादीले बिच्छ्याएको विद्युतीय धरापमा परेको थियो र त्यसै धरापमा ३९ जना सर्वसाधारणको ज्यान गएको थियो भने ७० जना घाइते भएका थिए । ती पीडितहरुले अहिलेसम्म न्याय पाएनन् र अपराधीलाई कारबाही पनि भएन ।
राजनीतिको यो संयोगबीच एउटा गम्भीर र अनुत्तरित प्रश्न छ– देशलाई एक दशकसम्म त्रासद हिंसामा लैजाने त्यत्रो लडाईंको अयोजक को थियो ? जसले हिंसात्मक लडाईंमा देउवा र दाहाललाई अलग मोर्चामा उभ्याएर १० वर्षे हिंसामा लोकतन्त्र डुबाइदियो र देउवा–दाहाललाई एउटै जुवामा नारेर अहिले लोकतान्त्रिक मूल्य पद्दतिमाथि प्रहार गरिरहेको छ । सत्ताको लेनदेनबाट लाभान्वित हुनेले त यसलाई सहज सत्ता हस्तान्तरणको नैतिक लेपन लगाएर महिमामण्डन गरिरहेका छन् तर, दाहाल–देउवाको १० महिना लामो ‘सहकार्य’ले कांग्रेसलाई सिद्धान्तच्यूत बनाएको केही घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । लामो फेहरिस्त नै चाहिंदैन, माओवादी नेताकी छोरीलाइ भरतपुरमा मेयर बनाउन मतपत्र च्यातेर पुनः निर्वाचन गराउन निर्वाचन आयोगलाई प्रयोग गर्ने कामसम्म कांग्रेस साक्षी बस्नु त्यसको ताजा उदाहरण हो र यो पनि संयोगले भरतपुरकै घटना हुन पुग्यो ।