बीभत्स टीकापुर काण्डका मुख्य दोषीलाई उन्मुक्ति, निर्दोषमाथि मुद्दा

maitrinews

 

टीकापुर । बीस महिनाअघि टीकापुर काण्ड भयो जसमा भाला रोपी रोपी डेढ वर्षे बालक र आठ सुरक्षाकर्मी बीभत्स ढंगले मारिए । त्यसको केही घण्टामै आगो लगाएर ७० थारू परिवारको सर्वस्व ध्वस्त पारियो । घटना ७ भदौ २०७२ मा भएको हो । अहिले यो घटनाका मुख्य दोषीलाई प्रचण्ड सरकारले उन्मुक्ति दियो भने घटनामा संलग्न नभएकाहरु मुद्दा खेपिरहेका छन् ।
एक महीनासम्म कफ्र्यू लगाइयो । सुरक्षाकर्मीको हत्यामा संलग्न भएको अभियोगमा तत्कालै र पछि गरेर संयुक्त थरूहट संघर्ष समितिका २५ नेता, कार्यकर्ता पक्राउ परे । ५८ जना माथि प्रहरीले वारेन्ट जारी ग¥यो । यसमध्ये ३३ जना अझै फरार छन् ।
आन्दोलनकारी नेताले नाबालकसहित ९ सुरक्षाकर्मीको ज्यान लिएको त्यो घटनाको जिम्मेवारी लिएनन् । उल्टै भागे । यो विषयलाई राजनीतिक बनाइयो र धेरैलाई रिहा गर्ने निर्णय प्रचण्ड सरकारले गर्यो । तर मुख्य अभियुक्तमाथि कारबाही नहुने र निर्दोष फस्ने सम्भावना देखियो ।
मुद्दा फिर्ताकोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । त्यसको टुंगो नलाग्दासम्म टीकापुर घटनाको निकास सम्भव देखिंदैन । राष्ट्रिय मानवअधिकार आयोगले सरकारको उक्त निर्णयले ‘आपराधिक घटनालाई राजनीतिक रूप दिइएको’ भनेर खेद व्यक्त गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिम्मेवारीपूर्वक छानबीन र अनुसन्धान नै नगरी आपराधिक घटनाका दोषीहरूलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय दिनु हो ।”
घटनामा संलग्न नभएका व्यक्ति पनि पक्राउ परेका छन् । उनीहरुलाई छाड्नुपर्छ तर दोषीलाई कारबाही हुनैपर्छ भन्ने स्थानीयवासीको माग छ ।

टीकापुर घटना भन्नासाथ टेकबहादुरकी आमा यशोदाका आँखा रसाइहाल्छन् । उनको व्यवहार पहिले भन्दा फरक छ । कम बोल्छिन् । उनी भन्छिन्, “भोट दिन जान्छु कि जान्न थाहा छैन । तर छोराका हत्यारालाई कारबाही हुनुपर्छ ।”
“दुई वटा बच्चा छन् । सशस्त्र प्रहरीबाट मैले राहत पाएँ । त्यही पैसाले टीकापुर बजारमा घर बनाउँदैछु । श्रीमान्को हत्यामा संलग्न दोषीलाई कारबाही हुनैपर्छ । सरकारले मुद्दा फिर्ता लिंदैछ रे भन्ने सुनेकी छु । मुद्दा फिर्ताका सम्बन्धमा मलाई कसैले केही सोधेको छैन ।
सरकारले मृतकका परिवारलाई जागिर दिने भनेको थियो । मेरो उमेर २४ वर्ष भयो । ९ कक्षासम्म पढेकी छु । वृद्ध ससुरा र दुई वटा बच्चाको पालनपोषणको जिम्मेवारी छ । घरपरिवारको खर्च धान्न म जागिर खान चाहन्छु ।