मनमोहन अस्पतालको बदनाम गर्ने सांसद र सञ्चार माध्यमलाई कारबाही गर्न चिकित्सक संघको माग, कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । राजधानीको मनमोहन अस्पताल र चिकित्सकको बदनाम गराउन केही सञ्चारमाध्यम र केही सांसदले मिर्गौला निकालिएको विषयमा अतिरञ्जित प्रचार प्रसार गरी भ्रमको खेती गर्ने काम गरेकोमा नेपाल चिकित्सक संघले कडा आपत्ति जनाउँदै त्यस्ता सञ्चार माध्यम र सांसदलाई कारबाही गर्न माग गरेको छ । मनमोहन अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला निकालिएको बचाउ गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको चेतावनी दिएको छ । संघको कार्यालयमा बसेको आकस्मिक बैठकले सभामुखलाई मिर्गौला काण्डबारे चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसदमा अनावश्यक रुपमा बोल्ने सांसदहरुलाई कारबाहीको माग गरेको छ । सांसदलाई आवश्यक कारवाहीका लागि सभामुखसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको संघका महासचिव लोचन कार्कीले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
बैठकले यो घटनाका सम्बन्धमा केही अनलाइन सञ्चार माध्यममा घटनालाई अतिरञ्जित गरी प्रशारण तथा प्रकाशन गरिएको एवं व्यावस्थापिका सदन चलिरहेको अवस्थामा केही सांसदहरुबाट चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी वक्तव्य दिने, चिकित्सा क्षेत्रको ज्ञानबिना नै घटनालाई अतिरञ्जित गर्ने कार्य गरेको आरोप लगाउँदै भत्र्सनासमेत गरेको छ ।
‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा उपचारकै क्रममा भएका घटनाहरुको उचित छानबिन र कारवाहीका लागि कानूनी प्रावधान विद्यमान रहेको अवस्थामा समेत कानुन विपरित विभिन्न गतिविधिमा संलग्नहरुलाई आवश्यक छानबिन गरी कानुनी राज्यको अक्षरस पालना गर्न एवं स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ अनुरुप कारवाही नगरिएको खण्डमा यस संघ अप्रिय कदम चाल्न बाध्य हुने’ विज्ञप्तिमा उल्लेख छ ।
घटनाको सुक्ष्म मूल्यांकन गर्दै विरामीको मृगौलाको पत्थरी देखिएकोले उपचारको क्रममा विरामीको जीवन रक्षाका लागि चिकित्सा पद्धति अनुरुप नै विरामीका आफन्तहरुको सहमतिमा मिर्गौला झिकिएको निष्कर्ष निकालेको छ ।
बैठकमा सघका पूर्व अध्यक्षहरु, पूर्व महासचिवहरु, विभिन्न विशेषज्ञ समाजका अध्यक्षहरु, महासचिवहरु, उपत्यकामा रहेका अस्पतालका निर्देशकहरु, विभिन्न अस्पतालका अध्यक्षहरु, संचालक समितिका प्रमुखहरु एवं संघका वरिष्ठ सदस्यको उपस्थिति रहेको थियो ।