टीकापुर नरसंहारकारीलाई ११ करोड बाँडे पनि प्रचण्डले चुनाव जितेनन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ कांग्रेस–माओवादी र राजपाको बैठकमा आफूले राज्य कोषको ११ करोड रुपैयाँ बाँड्दा पनि कैलालीको टीकापुरमा एमालेले जितेकामा आश्चर्य ब्यक्त गर्दै प्रश्न गरे । दाहाल प्रधानमन्त्री रहेकै बेला उनले निर्वाचन आचारसंहिता विपरित द्वन्द्वपीडितका नाममा ९ अर्व बाँड्न रकम छुट्याएका थिए । निर्वाचन आयोगले पनि आचारसंहिता विपरित दाहालको यो कदमप्रति मौनता देखाएको थियो । दाहालले टीकापुरमा मात्र ११ करोड बाँडेको तर, त्यहाँ एमालेले चुनाव जितेको भन्दै दुःख ब्यक्त गरे ।

कैलालीको टीकापुरमा एक वालकसहित ८ जना प्रहरी अधिकारीमाथि भएको नरसंहारकारी अपराधलाई राजनीतिक आन्दोलनको मान्यता दिंदै दाहालले ११ करोड रुपैयाँ बाँडेका थिए । टीकापुर नरसंहारका फरार अभियुक्त रेशम चौधरीलाई पनि क्षतिपूर्ति वापत भन्दै दाहालले १ करोड ७४ लाख रुपैयाँ राज्यकोषबाट बाँडेका थिए । विपन्न नेपालीले गास काटेर तिरेको राजश्व मानवताविरोधी अपराधका अभियुक्तलाई वितरण गर्दै यसरी राज्यकोष दुरुपयोग गरेका दाहालको पार्टीले यही तरिकाले मात्र देशभर ८४ सिट जित्न सफल भएको पनि यसले पुष्टि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग प्रश्न गरेको बैठकमा सहभागी नेताहरुले वताए । टीकापुर त्यही ठाउँ हो, जहाँ २०७२ भदौ ७ गते एसएसपीसहित सात जना प्रहरीको हत्या भएको थियो। एक जना बालक पनि मारिएका थिए। देशमा भएका यस्ता अपराधिक घटनाको पृष्ठभूमिमा माओवादीको नै संलग्नता हुने र सरकारमा हुँदा माओवादीले जनताको ज्यान लिने अपराधीलाई नै पालनपोषण गर्ने गरेको पनि यो प्रकरणले पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टीकापुर नरसंहारका अपराधिहरुलाई ११ करोड रुपैयाँ दिने निर्णय गरेपछि दाहाल स्वयं टीकापुर गएका थिए ।

टीकापुरको नरसंहारलाई राजनीतिक आन्दोलन भनी राज्यकोष दुरुपयोग गरी संरक्षण गर्ने पक्षको सर्वपक्षीय गठबन्धनलाई पराजित गर्दै त्यस घटनालाई अपराध भन्दै आएको एमालेले त्यहाँ निर्वाचन जित्यो । यसले टीकापुर नरसंहारका देखिने र नदेखिने रचनाकर्ता दुवैथरीलाई चोट पुगेको छ ।