आधुनिक शिक्षासँगै विद्यार्थीलाई मौलिक संस्कृति सिकाउँदै भोजपुरको समता विद्यालय

भोजपुर, २८ असार । भोजपुरस्थित समता स्कुलले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी जीवनोपयोगी व्यावहारिक शिक्षा र मौलिक संस्कृतिसँग जोड्ने विशेष पहल सुरु गरेको छ। नयाँ पुस्तामा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले व्यावहारिक सिकाइलाई प्राथमिकता दिएको हो।

विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, रीतिरिवाज र परम्परागत जीवनशैलीबारे ज्ञान प्रदान गर्दै आएको छ। विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, रैथाने भेषभूषा प्रदर्शन र परम्परागत खेलकुद सम्बन्धी गतिविधिले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास गराएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक प्रतिस्पर्धी शिक्षासँगै संस्कार र संस्कृतिको जगेर्ना गर्नु उत्तिकै आवश्यक भएकाले यस्ता गतिविधिहरूलाई विद्यालयको वार्षिक कार्यतालिकामा समावेश गरिएको बताए। नयाँ पुस्तालाई सानै उमेरदेखि आफ्नो इतिहास, रैथाने पहिचान र सांस्कृतिक महत्त्वबारे जानकार बनाउने लक्ष्यका साथ विद्यालयले संस्कारयुक्त शिक्षामा जोड दिएको उनको भनाइ छ।