स्वीट्जरल्यान्डलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनलमा, अब इङ्ल्यान्डसँग भिड्ने

 

कान्सास सिटी ।  जुलियन अल्भारेजको सानदार गोलको मद्दतले स्वीट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार कान्सास सिटी स्टेडियममा भएको रोमान्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्वीट्जरल्यान्डमाथि ३–१ को जित निकाल्यो ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्ल्यान्डको सामना गर्नेछ । इङ्ल्यान्डले पनि शनिबारै भएको अर्को खेलमा नर्वेलाई हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ ।

खेलको १० औं मिनेटमै लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा खेलको ६७ औं मिनेटमा ड्यान एनडोयेले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा स्वीट्जरल्यान्डका स्ट्राइकर ब्रेएल एम्बोलोले ‘सिमुलेसन’ (फाउलको नाटक) गरेको भन्दै दोस्रो पहेँलो कार्ड (रातो कार्ड) खाएर मैदान बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा खुम्चिएको थियो । यस क्रममा ‘भिडियो असिस्टेन्ट रेफ्री’ (VAR) ले रेफ्रीलाई निर्णय पुनरावलोकनका लागि आग्रह गरेको थियो, जुन यस प्रतियोगिताको नयाँ नियम अन्तर्गत थियो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११२ औं मिनेटमा जुलियन अल्भारेजले २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले २–१ को अग्रता लियो । खेलको अन्तिम समयमा काउन्टर अट्याकमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पनि गोल गर्ने केही अवसर पाएका थिए, तर स्वीस गोलकिपरले त्यसलाई विफल तुल्याइदिए । अर्जेन्टिना अब इटाली र ब्राजिलपछि लगातार दुई पटक विश्वकप उपाधि जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ ।

अर्जेन्टिना र इङ्ल्यान्डबीचको सेमिफाइनल खेल आगामी बुधबार एटलान्टामा हुनेछ । अर्को सेमिफाइनलमा मंगलबार स्पेन र फ्रान्स भिड्नेछन् ।