इतिहासका थुप्रै तथ्य लेख्न बाँकी छ : डा. महेशराज पन्त, इतिहासकार

 

संशोधन मण्डल सफल कि विफल ?

यो मैलेभन्दा पनि यहाँहरूले मूल्यांकन गर्ने कुरा हो। म कसरी भनूँ, सफलरु अथवा म कसरी भनूँ, विफलरु भन्नु नै पर्ने हो भने म सगर्व भन्छु, नेपालको इतिहासका जति तथ्य र प्रमाण बाहिरिएका छन्, तिनमा ७५ प्रतिशत योगदान संशोधन मण्डलको छ। प्राचीन–मध्यकालिक–आधुनिक नेपालको इतिहासका जति पनि स्कलरको नाम लिइन्छ, ती सबैजसो संशोधन मण्डलकै उत्पादन हुन्। यसअर्थमा मण्डल सफल। हामीले पाठशालालाई चलाउँदै जान सकेनौँ। यसतर्फ नयाँ पुस्तालाई तान्न सकेनौँ। यसअर्थमा हामी विफल हौँ।

किन निरन्तर हुन सकेन ?

विदेशी सहयोग नआउने भए केही गैैससमा, सरकारले तलब नदिने भए त्रिवि–एकेडेमीजस्तामा को अनुसन्धाता हुथ्यो होलारु हामीले बाह्य सहयोग नलिने, दाताको ढोका चहार्न नजाने, उनीहरूको एजेन्डामा काम नगर्ने, यो काममा लागेर रातारात धनी हुन नसकिने, अनि को आउँछ प्राचीन सामग्री अध्ययन गर्नरु हाम्रा विश्वविद्यालयबाट उच्च अंकसहित डिग्री–विद्यावारिधि लिएको कसैले पनि भेटिएको कुनै अभिलेख, शिलापत्रको अर्थ दिन त के सन्दर्भसमेत बताउन सक्दैन। त्रिविको संस्कृति, इतिहास, पुरातत्व विभागबाट अभिलेख राम्ररी पढ्न सक्ने, उल्था गर्न सक्ने, व्याख्या गर्न सक्ने, न त इपिग्राफिस्ट, न त आइकनोग्राफर एक जना पनि छैन। मूल अभिलेखको कनीकुथी–हावादारी उल्था गरेर आनका तान फरक पारेका उदाहरण प्रशस्त छन्, पुरातत्व विभागकै। शब्दानुवाद गर्न सकिने ठाउँमा पनि भावानुवाद गर्नु विडम्बना हो। यो व्यक्तिको दोष होइन, हाम्रो दूषित पढाइको दोष हो।

अंग्रेजी र संस्कृत पढैयाबीच निकै दूरी छ निरु दुवै भाषामा पकड छ यहाँको। कमलप्रकाश मल्लको सन्दर्भसहित भनिदिनुस् न ?

कमलप्रकाश मल्लले ुसंस्कृत पढेकाहरू शक्तिका सानुराग बफादार भएका छन्ु भनी लेखे। मैले उनलाई एक लेख लेखेर जवाफ दिइसकेको छु। म आफूले १४ वर्ष हुँदा एबीसीडी सिकेको हुँ। पछि मैले यसमा पनि राम्रो पकड जमाएँ। राम्रो स्कलर हुन सकेसम्म धेरै भाषाको ज्ञान हुनु जरुरी छ। तर, केही वर्षयता के देखिएको छ भने, संस्कृत पटक्कै नजान्नेहरू टुटेफुटेको अंग्रेजीकै भरमा विद्वान् कहलिएका छन्। गोरा–पश्चिमाहरूलाई खुसी पार्ने, उनीहरूले जे लेखे पनि पत्याइदिने, विदेशीले थुकेर फालिदिएको जुठोलाई भव्य स्वागत गर्ने प्रचलन बढेको छ, हामीकहाँ। मेरो अनुभवले के भन्छ भने नेपालमा अंगे्रेजीमा लेख्दा इज्जत बढ्दो रहेछ तर पाठक चाहिँ नेपालीमै लेख्दा बढ्दा रहेछन्।

हिजोआज दुईथरी बहस खुबै सुनिन्छ। एकथरी इतिहासका पुराना पात्र र सन्दर्भलाई अहिलेका आँखाले हेर्ने र पुरानालाई सराप्ने। अर्काथरी, त्यही समयको विश्व सन्दर्भमा हेर्नुपर्छ, पुर्खाको आलोचना गर्नु पाप हो भन्ने। इतिहासलाई कसरी बुझ्ने ?

यी दुवै हावादारी, अतिवादी तर्क हुन्। इतिहासको आत्मा भनेको प्रमाण र तथ्य हो। प्रमाण र तथ्यले जे भन्छ, त्यसरी नै व्याख्या गर्ने हो। हालै दुई किताब निस्किएका छन् नि। एउटा पृथ्वीनारायण शाह अचेतनशील–अबुझ हुन् भन्ने अर्को उनले कीर्तिपुरेको नाक काटेकै होइनन् भन्ने। दुवै गलत। यहाँ हल्ला पिट्नेहरूकै बोलवाला छ।

के इतिहास राजा–महाराज र जित्नेहरूको मात्र हुन्छ ?

हुँदैन। न राजा, न प्रजा, इतिहास तथ्य र प्रमाणको हुन्छ। तर, हाम्रोमा इतिहासका साधनको रक्षा गरेर राख्ने परिपाटी नभएकाले धेरैजसो इतिहास शासनमा पकड भएकाहरूकै आएको छ।

यहाँहरू जेलाई तथ्यरप्रमाण भन्नुहुन्छ कतिपय चाहिँ तिनमै शंका गरेर ती प्रमाणाभास मात्र हुन् पनि भन्छन् नि ?

संसारको प्राचीनतम वाङ्मयको अध्ययन नगरेकाहरूले यसो भन्ने हो।

हुनत इतिहास भनेकै राजनीतिक इतिहास हो। तर, हामीकहाँ राजनीतिकबाहेक सामाजार्थिक, सांस्कृतिक, भौगोलिकजस्ता इतिहासमा काम भएको छ ?

साँच्ची भन्ने हो भने राजनीतिक इतिहासमा पनि काम भएको छैन। काम केवल राजवंशको इतिहास ९लिच्छवि, मल्ल, शाह वंश इत्यादि० मा मात्र भएको छ। सर्वाङ्गीण इतिहास लेख्न शासकले आफ्नो कुरा प्रचार गर्न राखेका अभिलेख मात्र पर्याप्त हुँदैनन्। यसका लागि प्राचीनकालदेखिका विभिन्न शास्त्रीय वाङ्मयको आलोडन गर्नुपर्छ।

ुनेपालका पब्लिक इन्टेलेक्चुअलु शीर्षकको लेखमा यहाँले विदेशीको इसारामा नाच्नेलाई बौद्धिक भनिएको भनी टिप्पणी गर्नुभएको छ। के यस्तै छन् सबै ?

हाम्रा बौद्धिक खासगरी चार किसिमका छन् स् बन्दी, नागरक, घोषवृद्ध र सत्री। यो भनेको के हो भन्नुहोला भने, बन्दी भनेको भाट अथवा चाकर। नागरक भनेको खानलाउन दुःख नभएको जो अनेकलाई भेला गराउँछ, सेवक बटुल्छ, प्रचार गर्छ। घोषवृद्ध भन्नाले उसलाई विश्वको ज्ञान केही हुँदैन, तर ऊ आफ्नो कुवाको व्याख्या यसरी गर्छ कि संसारमै पहिलो–ठूलो शान्त–सुन्दर भनेर। मेरो धर्म, मेरो संस्कृति, मेरो देश संसारमा कहीँ नभएको सुन्दर, शान्त, विशाल भन्दै उफ्रिनेहरू यही कोटिका हुन्। र, अन्तिममा सत्री भनेको आफ्नो विद्यालाई राजनीतिमा, शक्तिमा प्रयोग गर्ने व्यक्ति।

पाँचौँ कोटि भन्नुभएन, उसो भए के बौद्धिक नै कोही छैनन् त ?

बौद्धिक भनेको त लाभ–हानिको ख्याल नगरी, सत्य र विवेकको धर्म कहिल्यै नछोड्ने निष्काम बुद्धिमान् हो। हामी जसलाई बौद्धिक भनिरहेछौँ ती मसीजीवी हुन्। यहाँ बौद्धिकताको खडेरी नै छ। विदेशी समुदाय, हाम्रै पार्टीहरू, हुँदाहुँदा अहिले त छोटेव्यापारीकै स्वार्थमा उनीहरूको आशीर्वाद–पदप्राप्त गर्न तँछाड–मछाड गर्दै बोल्ने–लेख्नेहरू कसरी बौद्धिक ?

हाम्रा विश्वविद्यालय, त्यसअन्तर्गतका अनुसन्धान केन्द्र, विभिन्न एकेडेमीहरूमा यत्रा प्राध्यापक, डाक्टर, प्राज्ञ छन्, त्यहाँ पो छन् कि बौद्धिकरु थिंक ट्यांक भनिने केही प्राज्ञिक गैसस पनि छन्, त्यहाँ पो छन् कि बौद्धिक ?

म यीबारे टिप्पणी गर्ने मुडमा छैन। सिनासमा हाम्रो संशोधन मण्डलका धनवज्र वज्राचार्य हुँदा उच्च कोटिका पुस्तक निस्किए। अहिले कसले के लेखे, के गरेरु तपाईं एउटा गतिलो पुस्तकको नाम लिन सक्नुहुन्छरु एकेडेमीले अहिले मात्र हैन, कहिल्यै गतिलो अनुसन्धान गरेन। हामीलाई अनुसन्धान–ज्ञान चाहिएर ती एकेडेमी खोलिएको–चलाइएको हो भन्ने भ्रममा हुनुहुन्छ भने मुक्त हुनुहोस्। ती त शासकहरूले आफ्ना सेवकहरूलाई सिर्फ जागिर दिन खोलिएका संस्था हुन्।

एकेडेमीमा यहाँको बुबा नयराज, यहाँहरूकै ज्ञानमणि नेपाल पनि जानुभएको थियो। अहिले संशोधन मण्डलकै सबैभन्दा कान्छो २२ औँ नम्बरका यहाँका भाइ पनि हुनुहुन्छ। यहाँ चाहिँ किन जानुभएन ?

हो, २०३६ सालमा बुबा जानुभयो। चाकरी गरेर, मलाई बनाइदेऊ भनेर जानुभएको होइन, उहाँ। तर, त्यहाँ रहेर उहाँले खासै धेरै योगदान दिन सक्नुभएन। मलाई प्रस्ताव आएको छैन, आउँदैन र आए पनि म जान्नँ। अरू पैसा खाएर यो क्षेत्रमा लाग्छन्, म पैसा छोडेर मात्र होइन, आफ्नो पैसा खर्च गरेरै यो क्षेत्रमा छु।

किन यस्तो भयो त ?

म यहाँलाई दुइटा कुरा सुनाउँछु। एकेडेमीले छापेको एउटा किताब म जर्मनीमा हुँदा सँगै रहेछ। मेरा त्यहाँका साथीहरूले हेरे, किताबको भित्री पानामा एउटा फोटो छापिएको थियो। उनीहरूले को हुन् यी भनेर सोधे। फोटोमा राजा महेन्द्र कुर्सीमा बसेका अनि सोमनाथ र लेखनाथजस्ता वरिपरि उभिएका। मलाई लाज लाग्यो। तर, मैले उभिएका यी नेपालका ठूला कवि हुन् भन्नैपर्‍यो। एक त उभ्याउनै नहुने राजा उस्तै। उभिनेहरू पनि उस्तै, प्रतिवाद गर्न सक्नुपर्‍यो नि। हो, अहिले त अवस्था यो भन्दा झनै बिग्रेको छ।

केही वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार दिन्छौँ, तिमी बायोडाटा पठाऊ भन्न आए, मन्त्रालयका मान्छे। मैले भनेँ, मैले किन दिनेरु काम के छ, काम कस्तो छ भनी खोज्ने, मूल्यांकन गर्ने त तिमीहरूले हो कि म आफैँलेरु उनले भने, धर्मराज थापाजस्तो महान् मान्छेले त बायोडाटा बुझाएका छन्। हेर्नुस्, यस्तो छ अवस्था। बौद्धिकसँग अडान हुनुपर्छ। लुरुक्क परेर जाने। बौद्धिकमा आफू र आफ्नो कामप्रति घमण्ड पनि त हुनुपर्छ।

हामी कि अधिमूल्यन कि अवमूल्यन मात्रै गर्छौं ?

हो, हामी इतिहासमा नचाहिँदा कथा हाल्छौँ। मिथलाई इतिहास भन्ठान्छौँ। हामीले कस्ता व्यक्तिलाई राष्ट्रिय विभूति मानेका छौँरु हामी ऐतिहासिक र प्रामाणिकभन्दा धार्मिक र मिथकीय पात्र पुज्छौँ। लडाइँमा हार्ने अमरसिंह र बलभद्र हाम्रा विभूति, तर जित्ने पाल्पाका उजिरसिंह अथवा पूर्वका भक्तवीर हामी चिन्दैनौँ। राजनीतिमा भनाइ छ, आफूले हराएको शत्रुको तारिफ गरिदिनुपर्छ। अंग्रेजहरूले अमरसिंह र बलभद्रको गर्नु तारिफ गरे, यसो गर्दा प्रकारान्तरले अंग्रेजहरूले आफ्नै चर्चा र तारिफ गरे। हामीले त्यही पत्यायौँ। यस विषयमा नयराजले २००७ मै लेखिसक्नुभएको हो। जंगबहादुरले गरेको जति अपराध भीमसेनले पनि गरे। दुवैले राजालाई थपना बनाएर शासन गरे। भीमसेनको पालामा मुलुक गुम्योे, जंगबहादुरको पालामा थपियो। तर, भीमसेन विभूति, जंगबहादुर कथित अन्धकार युगका प्रवर्तकरु अनि त्यो अन्धकार युग हो भने यही युगका मोतीराम उज्याला विभूतिरु जनक भनेको वंश अर्थात् अहिलेको थरजस्तो हो, उनी विभूतिरु यस विषयमा मैले २०३८ सालमै लेखिसकेको हुँ। तर, यहाँ न कोही पढ्छ, न गल्ती औँल्याइदिँदा पनि सच्याउँछ। अधिमूल्यन त कतिसम्म हुन्छ भने महेश सरलाई त हेर्नेबित्तिकै फरररर आउँछ पनि भन्छन्। के आउँछ मलाई ?

हामी अहिले कुरा गरिरहेको यो क्षेत्र ९काष्ठमण्डप० उसै भग्नावशेष छ। हाम्रा पुस्तकालय बोरामा छन्। देशमा सांस्कृतिक–ऐतिहासिक सम्पदा किन यस्तो बेवारिस ?

यहाँ यत्रा मन्दिर भत्किए, मूर्ति हराए, शिलालेख नासिए। मैले दुई वर्षयता पुरातत्व विभाग र पुनःनिर्माणबारे ११ वटा लेख छपाइसकेँ, अखबारमा। खै, यहाँ न कोही पढ्छ, न सुन्छ। राज्यका जिम्मेवार निकायहरू खालि कमिसन खाने, हेर्नुस् तरु

भुइँचालो आएपछि मेरो घर त केही भएन, तर धेरै दराज लडे, बिग्रिए। १५ हजार जति पुस्तक, पत्रपत्रिका, अभिलेख, चिठीपत्र छन्। म एक्लो मान्छेले आफ्नै खर्चमा सबै व्यवस्थापन गरिसकेँ भने के राज्य सक्दैनरु पुस्तकालय, संग्रहालय नाम मात्रका छन्, साह्रै भद्रगोल छ। संरक्षणको कुर्सीमा बसेकाहरू आफ्नो ढुकुटीमा रहेका सामग्रीलाई न्याय गर्न सक्ने योग्यताका छैनन्।

यहाँहरूले लेख्ने शोधलेख, पुस्तक बुझ्न साह्रै कष्ट गर्नुपर्छ। के यहाँलाई इतिहास लेखन धेरै प्राविधिक भयो, सहज सम्प्रेष्य बनाउनुपर्छ भन्ने लाग्दैन ?

लाग्छ नि। म एक्लैले केसम्म गरूँरु हामीले आफ्नै बलबुतामा यस्तो तयार पारेपछि अरू कोही जुर्मुराउनुपर्‍यो नि। अँ, सजिलोका नाममा विनास्रोत, विनापादटिप्पणी लेख्नुहुन्न। अहिले खुब चर्चा छ नि एकजना ुअगेन्स्ट द करेन्टु लेख्छन् भनेर, उनले जसरी सन्दर्भस्रोतसामग्री छिपाएर–लुकाएर लेख्नु बेइमानी र चोरी हो। चोरी चोरी नै हो, बौद्धिक चोरी भन्ने भए आर्थिक–भौतिक चोरी पनि भन्नुपर्छ। स्रोत नखोल्नु अशास्त्रीय काम हो। सबै आफैँले जानेजस्तो गरी लेख्नु पाठकलाई अपमान गर्नु हो।

संशोधन मण्डलको योजना के छ ?

म त हवल्दार मात्र हुँ। बाउको बिँडो थामेको मात्र हुँ। इतिहासका थुप्रै तथ्य लेखिन बाँकी छ। बाँकी काम सम्झेर अत्यास लाग्छ। पूरा समय लेखपढमै बितिरहेको छ मेरो। संस्थागत योजना खास केही छैन।