एसियाली खेलकुदमा नेपाललाई रजत पदक

जकार्ता । नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।
पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।
नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो ।
जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।
बुधबार पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो। नेपाललाई नियमीत जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो।
एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो। सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।