मेरोजस्तो जीवन अरु कसैको नहोस्’

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत खुला रुपमा आफ्नो धारणा व्यक्त गर्नका लागि परिचित छिन् ।

उनले भारतमा हालै भित्रिएको मिटू अभियानबारे पनि आफ्नो राय राखेकी छिन् ।

कंगनाले सुरुदेखि नै मिटू अभियानको खुलेर समर्थन गर्दै आएकी छिन् ।

आफ्नो नयाँ फिल्म मणिकर्णिकाः द क्विन अफ झाँसीको सुटिङ समाप्त भएपछि उनले एउटा पार्टी राखिन् जहाँ कंगनाले आफ्नो जीवन एक संघर्ष हो र जीवनभरी आफूले संघर्ष नै गरिरहेको दर्साउन खोजेकी छिन् ।

‘मेरोजस्तो जीवन अरु कसैको नहोस्’

कंगनाले रानी लक्ष्मीबाईको जीवन अत्यधिक संघर्षपूर्ण बताउँदै आफ्नो पनि जीवन यस्तै भएको बताएकी छिन् ।

उनले भनिन्, ‘म चाहन्नँ कि मेरोजस्तो जीवन अरु कसैको होस् र आफ्नो बच्चालाई पनि यस्तो संघर्षले भरिएको जीवन दिन चाहन्नँ । मलाई लाग्छ कि म जन्मेदेखि मैले हरेक कुराको लागि लड्नु परेको छ । यसै कारण रानी लक्ष्मीबाई र ममा एकदम समानता छ ।’

कंगनाले कुनैबेला आफूलाई इन्डष्ट्रिमा कुनै खान ९शाहरुख, सलमान, आमिर० को आवश्यकता नभएको बताएकी थिइन् । कुनै स्टारको पछाडि उभिएर आफूले सफलता हाँसिल गर्न नचाहेको उनले बताउँदै आएकी छिन् ।

अहिले त कंगनासँग कामको कुनै कमी छैन । कुनै पनि ए लिस्टरजस्तै उनीसँग तीन–चारवटा फिल्म छ । मणिकर्णिकापछि उनी राजकुमार रावसँग ‘मेन्टल हे क्या’ नामको फिल्म गर्दैछिन् । यसबाहेक उनीसँग निर्देशक अश्विनी अय्यर तिवारीको पनि एउटा फिल्म छ जसमा उनी एक कबड्डी खेलाडी बनेकी छिन् ।