दक्षिण कोरियामा सङ्कटकाल घोषणा

maitrinews

दक्षिण कोरिया । दक्षिण कोरियामा डढेलो फैलिएपछि राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ ।
बिहीवारबाट सुरु भएको डढेलोमा परेर एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ । उत्तर कोरियाको सीमा नजिकै रहेको पूर्वोत्तर पहाडी भेगमा फैलिएको आगो निभाउन कर्मचारीहरूसँगै हजारौँ सैनिक परिचालित छन् । मुख्य आगो नियन्त्रणमा आइसकेको भए पनि अरू स्थानमा डढेलो बाँकी रहेको अधिकारीहरूले बताएका छन् । बिहीवार राति सोलबाट पूर्वोत्तर खाङ्वान प्रान्तमा बिजुलीको ट्रान्स्फर्मरबाट निस्किएको झिल्कोबाट डढेलो सुरु भएको बताइन्छ । तीव्र गतिमा चलेको हावाका कारण आगो छिट्टै पहाडी भेग र नजिकै रहेका केही सहरमा फैलिएको अधिकारीहरूले जनाए । दक्षिण कोरियाका विभिन्न स्थानबाट आठ सयवटाभन्दा बढी दमकल डढेलो नियन्त्रणमा खटिएका छन् । सो प्रान्तमा सयौँ भवनहरू जलेर नष्ट भएका छन् भने आपत्कालीन बैठक बोलाएर दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले अधिकारीहरूलाई उपलब्ध स्रोत र साधन प्रयोग गरी आगो नियन्त्रण गर्न निर्देशन दिएका थिए । यसक्रममा झन्डै १६ हजार पाँच सय सैनिक, ३२ वटा सैन्य हेलिकप्टर, २६ वटा सैन्य दमकल परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।