अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु

maitrinews

 

सिड्नी । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।
यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ ।

यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७।३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको अष्ट्रेलियाको एक अनलाइन पोर्टल नाइन न्यूजले लेखेको छ ।
उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ ।