पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण ठूलो षड्यन्त्रबाट बाँचे

 

क्रषिकेश । विषाक्त पेडा खाएका कारण अघिल्लो हप्ता अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण एउटा गम्भीर षड्यन्त्रबाट जोगिएको नेपालस्थित पतञ्जलिका उनी निकट एक अधिकारीले बताएका छन्।

आफ्ना निकट मित्र भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य समाग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिरहेका आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ।

पतञ्जलिमा ९८ दशमलब ६ प्रतिशत सेयर रहेका भनिएका उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको छ।

तर गत शुक्रवार विषादी मिसिएको मिठाई खाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले उनलाई अकस्मात् अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्थामा सुधार भएपश्चात् उनी नियमित काममा फर्किए पनि पतञ्जलिआवद्ध उच्च अधिकारीहरूले बालकृष्णको स्वास्थ्यमा अचानक देखिएको समस्यालाई षड्यन्त्रका रूपमा हेरिरहेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि आचार्य बालकृष्णलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

ऋषिकेश नै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पतञ्जलि नेपालका सञ्चालक शालिकराम सिंहले पतञ्जलिलाई समाप्त पार्ने उद्देश्यले आचार्य बालकृष्णलाई निसाना बनाइएको आफूहरूले ठानेको बताए।

उनले भने, ूएकजना पूर्वकर्मचारीले कार्यालयमा गएर दिएको पेडा खाएको पन्ध्र मिनेटपछि उहाँले अप्ठेरो महसुस गर्न थाल्नुभयो। हातहरू बाङ्गोटिङ्गो घुमाउन थालेपछि उहाँलाई तत्कालै नजिकै रहेको पतञ्जलिको अस्पतालमा लगियो। त्यहाँ चिकित्सकहरूले खानेकुरा विषाक्त भएको हुनसक्ने भन्दै बान्ता गराए र थप उपचारका लागि एम्स अस्पतालमा लैजान सुझाव दिए।ू