ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिइएको यमनका हुथी विद्रोहीको दाबी

 

यमन । हुथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।
हूथी समूहका एक प्रवक्ताले साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आत्मसमर्पण गरेको बताएका छन्।
उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ। साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।
यमनमा सङ्घर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताए।
कर्नेल याहिया सारियाका अनुसार साउदी फौजले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ।
सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीहरूले दाबी गरेका छन्। उनीहरूलाई इरानको समर्थन छ।
साउदी तेल केन्द्रहरूमा आक्रमण भएपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि तेलको मूल्य प्रभावित भएको थियो।
अमेरिका, बेलायत, फ्रान्स र जर्मनीको समर्थन पाएको साउदी अरबले ती आक्रमणहरू इरानले गराएको आरोप लगाएको छ। तर इरानले आफू ती घटनामा संलग्न नभएको बताएको छ।
सन् २०१५ देखि यमनमा गृहयुद्ध भइरहेको छ। हूथी विद्रोहीहरूले राष्ट्रपति अब्द्रब्बुह मन्सूर हादी र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई राजधानी छोड्न बाध्य पारेपछि त्यहाँ युद्ध सुरु भएको थियो। त्यसअघि ती विद्रोहीहरू देशको उत्तरी भागलाई आफ्नो नियन्त्रणमा लिएका थिए।