श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भन्नुभयो, हाम्रो मन मुटुमा छ, बुद्ध जन्मभूमि नेपाल
कोलम्बो । श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उहाँले यस्तो बताउनुभएको हो ।
‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उहाँले भन्नुभएको छ ।
उहाँलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताउनुभएको छ ।
गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।