ट्रम्पद्वारा मध्यपूर्व शान्तिको नयाँ योजना सार्वजनिक

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उहाँको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा पश्चिमी किनाराको बसोबासमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गर्नुभएको छ ।
ट्रम्पले मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्मियान नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गर्नुभएको हो। उहाँले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भन्नुभयो ।
आजको सम्झौता प्यालेस्टाइनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो। सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ, उहाँले भन्नुभयो ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले ती योजनाको प्रशंसा गर्नुभयो ।
उता प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले उक्त योजनालाई षडयन्त्र भन्दै अस्वीकार गर्नुभएको छ ।
म ट्रम्प र नेतान्याहुलाई भन्छु जेरूसलेम वबक्रीमा छैन। हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ। यो षडयन्त्र सफल हुँदैन, रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो।
मङ्गलबार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरे। इजरायली सेनाले अधिनस्थ पश्चिमी किनारामा सैन्य उपस्थिति थप बलियो पारेको छ।
शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहनुभएको छ ।
प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचार आरोप लागेको छ।
इजरायलका लागि अमेरिकी राजदूत डेभिड फ्रिडम्यानले सो घोषणाको समय कुनै राजनीतिक विकासक्रमसँग नजोडिएको बताउनुभयो ।
साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्।
तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टाइनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताउनुभयो ।

इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः शुरु गर्न आह्वान गरेको छ।
इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको हो ।
तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ।
त्यही समयमा इजरायलले वेस्ट पश्चिमी किनारा तथा गाजा क्षेत्रमा कब्जा गरेको थियो।
लेबननस्थित इरान समर्थित हेजबुल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ।
हालसम्म इजरायल र प्यालेस्टाइनबीचको विमतिको सबभन्दा चुनौतीपूर्ण पक्ष भनेको सिमानाको मुद्दा, जेरूसलेमको हैसियत, र प्यालेस्टाइनी शरणार्थीको भविष्य रहेका थिए, जसलाई ती दुईको सीधा वार्तामार्फत् समाधान गर्ने भनिएको थियो।

तर ट्रम्पको योजनामा ती सबै विमतिलाई इजरायलको पक्षमा समाधान गरिने प्रस्ताव गरिएको छ ।

सो योजना निर्माणको चरणमा प्यालेस्टाइनीहरू अनुपस्थित मात्र थिएनन्। उनीहरूले अमेरिकाले एकपक्षीय रूपमा दूतावास जेरूसलेम सारेपश्चात् ट्रम्प प्रशासनलाई बहिष्कार गर्दै आएका थिए।
अहिले आएर प्यालेस्टाइनीहरूको सामुन्ने समयसीमा राखिएको छ । उनीहरूलाई ट्रम्पको शर्त मान्न चार वर्ष जतिको समय दिइएको छ।
प्यालेस्टाइनीहरूलाई राज्यको विकल्प त दिइएको छ तर त्यो निकै टुक्रिएको हुनेछ। अबको प्रश्न भनेको यो योजनाले कस्तो फाइदा पुर्‍याउँला भन्दा पनि यसले प्यालेस्टाइनी चाहना लत्याएर कति नोक्सानी पुर्‍याउला भन्ने हो ।