न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा कोरोना सङ्क्रमण फैलियो

maitrinews

 

न्युयोर्क । न्युयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड १९ बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।
पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए।
संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए।

न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्य भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बताएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।

अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ुसेल्फ क्वारान्टीनुमा बस्न भनेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए।

अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ सोही शहरबाट पत्ता लागिरहेका छन्।

अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। सात सयजनाको ज्यान गइसकेको छ।

राष्ट्रपति ट्रम्पले भने, हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। इस्टर सम्ममा अमेरिकीहरू काममा फर्कनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।