बेलायतका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि

 

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

ूइङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो, प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।

बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै एकसाथ भाइरसलाई परास्त गर्ने बताएका छन्।

उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।

यसैबीच, ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको छ।
मध्यम खालका लक्षण देखिएका उनी पनि घरमा एकान्तवासमा बसिरहेका छन्।

दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो।