संसारभर १ लाख ६५ हजार मानिस कोरोना संक्रमणबाट निको भए

maitrinews

 

काठमाडौँ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदो छ। योसँगै निको हुनेको संख्या पनि बढ्दै छ।
संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन्।

यसरी निको हुने मध्ये धेरै जना चीनबाट रहेका छन्। कोरोना भाइरसको उद्गम मुलुक चीनका ८१ हजार ५ सय १८ संक्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन्।

त्यहाँ संक्रमणका कारण हालसम्म ३३ सय ५ जनाको ज्यान गइसकेको छ।

यस्तै संक्रमणबाट सर्वाधिक नागरिक गुमाएको इटालीमा १४ हजार बढी निको भएका छन् भने अर्को युरोपेली मुलुक स्पेनमा पनि १६ हजार बढी यसको संक्रमणबाट मुक्त भइसकेका छन्।

जर्मनीमा पनि साढे १३ हजार मानिस निको भएर घर फर्किएका छन् भने इरानमा १३ हजार ९ सय ११ जना निको भएका छन्।

पछिल्लो समय अमेरिका ‍कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ।

त्यहाँ हालसम्म करिब १ लाख ६५ हजार जना संक्रमित भएकोमा ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने ५५ सय ६ जना संक्रमण मुक्त भएका छन्।

पछिल्लो विश्व विवरण अनुसार संसारभर ७ लाख ८५ हजार ७ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमा ३७ हजार ८ सय १५ जनाको ज्यान गएको छ।

हाल संसारमा रहेका ५ लाख ८२ हजार ३ सय ५५ जना संक्रमित मध्ये ९५ प्रतिशतलाई मध्यम स्तरको संक्रमण छ भने ५ प्रतिशतको संक्रमण अवस्था गम्भीर छ।