जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा ७१ वर्षीया वृद्धाको मृत्यु, दुई जना घाइते
जाजरकोट, २९ असार । जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा सोमबार बिहान गएको पहिरोले एक जनाको ज्यान लिएको छ। अविरल वर्षाका कारण खसेको पहिरोले अस्थायी टहरा पुर्दा ७१ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको हो भने उनकी छोरी र नातिनी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीका अनुसार, घटना सोमबार बिहान करिब २:०० बजे घटेको हो। वर्षासँगै घरमाथिबाट खसेको माटोको ढिस्कोले जस्तापाताले छाएको अस्थायी टहरा पुरेको थियो।
पहिरोमा च्यापिएर जयशिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सोही घटनामा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। उनीहरूको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
मृतक शाह गत कात्तिकमा गएको भूकम्पपछि घरबारविहीन भएकी थिइन्। सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदान सहयोगबाट निर्माण गरिएको अस्थायी टहरामा उनी आश्रित थिइन्। भूकम्पले थिलथिलो पारेको जमिन र कमजोर अस्थायी संरचनाका कारण मनसुनको सुरुवातमै यो मानवीय क्षति हुन पुगेको स्थानीयको भनाइ छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुधिरराज खड्काको नेतृत्वमा विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। टोलीले घटनास्थलको वस्तुस्थिति मुचुल्का गर्ने र थप उद्धार तथा राहतका लागि समन्वय गरिरहेको छ।