विदेशको विकल्प आफ्नै गोठ : उन्नत भैँसीपालनबाट देवेन्द्रको मासिक एक लाख आम्दानी

काठमाडौँ, असार २९ । वैदेशिक रोजगारीका लागि हजारौँ नेपाली युवाहरू दिनहुँ खाडी मुलुकतर्फ उडिरहेका बेला पर्वतका एक युवाले भने आफ्नै गाउँको माटोमा पसिना बगाएर सफलताको उदाहरणीय कथा लेख्नुभएको छ । बिहादी गाउँपालिका २ बर्राचौरका ४० वर्षीय देवेन्द्र पराजुलीले व्यावसायिक भैँसीपालनबाट मासिक करिब एक लाख रुपियाँ खुद आम्दानी गर्दै स्वरोजगारको उत्कृष्ट मार्ग प्रशस्त गर्नुभएको हो ।

विगत चार वर्षदेखि ‘पराजुली कृषि तथा पशु फार्म’ सञ्चालन गरिरहनुभएका पराजुलीको गोठमा यतिबेला उन्नत जातका भैँसीहरूको चहलपहल छ । सुरुमा स्थानीय जातका केही भैँसीबाट व्यवसाय थाल्नुभएका उहाँको फार्ममा अहिले पाँचवटा उन्नत मुर्रा र अन्य स्थानीय गरी १० वटा भैँसी रहेका छन् ।

उत्पादन र बजारको अवस्था
पराजुलीको फार्मबाट दैनिक ८० देखि १०० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । उत्पादित दूध प्रतिलिटर एक सय रुपियाँका दरले फार्मबाटै बिक्री हुने गर्दछ । दूधको माग उच्च रहेकाले बजारको कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । उहाँले उत्पादन गरेको दूध पर्वतको स्थानीय बजारका अतिरिक्त छिमेकी जिल्ला गुल्मीको पुर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ । ‘अहिले बजारको भन्दा पनि उत्पादनको चुनौती छ ।’ पराजुली भन्नुहुन्छ, ‘मागअनुसार दूध पुर्‍याउनै मुस्किल परिरहेको छ ।’

प्राविधिक ज्ञान र पारिवारिक साथ
भेटेरिनरी जेटिए अध्ययन गर्नुभएका पराजुलीले आफूले सिकेको प्राविधिक ज्ञानलाई आफ्नै गोठमा प्रयोगमा ल्याउनुभएको छ । उहाँको यो व्यावसायिक यात्रामा श्रीमती अमृतादेवी शर्मा पराजुलीका साथै आमाबुबा र परिवारका अन्य सदस्यको पूर्ण सक्रियता र सहयोग रहेको छ । भैँसीपालनका अतिरिक्त उहाँले २८ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, मकै र धान खेती समेत गर्दै आउनुभएको छ । कालीगण्डकी करिडोर नजिकै फार्म रहेकाले कृषि उपज ढुवानीमा सहजता मिलेको उहाँको अनुभव छ ।

राज्यको प्रोत्साहन र भविष्यको योजना
करिब ३० लाख रुपियाँको निजी लगानीमा सुरु भएको यस व्यवसायलाई थप विस्तार गर्न राज्यले पनि सहयोग पुर्‍याएको छ । चालु आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले चार लाख अनुदान उपलब्ध गराएको छ । ५० प्रतिशत लागत साझेदारीमा प्राप्त उक्त रकमबाट उहाँले आधुनिक गोठ निर्माण गर्नुभएको छ ।

एकाइ प्रमुख अर्जुनप्रकाश सुवेदीका अनुसार कृषिमा लागेका युवाहरूलाई प्रोत्साहन गरी ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास गर्ने उद्देश्यले यस्ता अनुदान प्रदान गरिँदै आएको हो । पराजुलीले आगामी वर्ष फार्ममा भैँसीको सङ्ख्या बढाएर कम्तीमा २० वटा पुर्‍याउने लक्ष्य राख्नुभएको छ ।

युवालाई सन्देश
पराजुलीको सफलताले पसिना बगाउनका लागि विदेश नै जानु पर्दैन भन्ने सन्देश दिएको छ । ‘विदेशको चर्को घाममा अर्काको काम गर्नुभन्दा आफ्नै माटोमा मेहनत गर्दा पाइने आत्मसन्तुष्टि निकै ठूलो हुन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘यहाँ मेहनत गर्दा त्यसको प्रतिफल आफ्नै परिवार र गाउँले पाउँछन् ।’

पराजुलीको यो संघर्ष र सफलताले गाउँमै बसेर पनि आधुनिक कृषि र पशुपालनबाट प्रतिष्ठित जीवनयापन गर्न सम्भव छ भन्ने तथ्यलाई पुष्टि गरेको छ । उहाँको फार्म अहिले स्थानीय अन्य युवाहरूका लागि समेत अध्ययन र प्रेरणाको केन्द्र बनेको छ ।