बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु
बागलुङ, २९ असार । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटमा आइतबार साँझ घरको पर्खाल भत्किँदा पुरिएर एक बालकको ज्यान गएको छ। बडिगाड गाउँपालिका–५ स्थायी घर भई मावली घरमा बस्दै आएका ५ वर्षीय आशिष भण्डारीको दुर्घटनामा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार, बालक भण्डारी घरको आँगनमा खेलिरहेको अवस्थामा अचानक पिँढीको मुख्य पर्खाल भत्किएको थियो। पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो।
प्रहरीको प्रारम्भिक अनुसन्धान र स्थलगत निरीक्षणका अनुसार, भौगोलिक रूपमा चुनौतीपूर्ण र कच्ची स्थानमा निर्माण गरिएको पर्खाल मनसुनको वर्षाका कारण थप कमजोर बनेको पाइएको छ। “घरको अवस्थिति प्राविधिक रूपमा जोखिमपूर्ण ठाउँमा रहेको र पर्खाल समेत कच्ची जगमा लगाइएकाले यो दुर्घटना भएको देखिन्छ,” प्रहरी नायब निरीक्षक भट्टराईले भन्नुभयो।