वोटे परिवारमा हात्ती आक्रमण : हात्तीको ‘रिस’ कि ‘प्रतिशोध’?

काठमाडौँ, असार २९ । १४ वर्षको अन्तराल, दुई फरक ठाउँ, तर एउटै जङ्गली हात्तीको घातक प्रहार । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ को आक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु भएपछि यतिबेला वन्यजन्तु विज्ञ र सर्वसाधारण बीच एउटा गम्भीर प्रश्नले चर्चा पाएको छ, के हात्तीले मानिससँग रिस साँध्छ र वर्षौँसम्म प्रतिशोध लिन्छ?

गएको शनिबार राति भरतपुर महानगरपालिका २३ मा ध्रुवेको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको अकालमा ज्यान गयो । यो घटनाको पीडा यतिमा मात्र सीमित छैन । ठिक १४ वर्षअघि वि.सं. २०६९ मा माडीको द्रौपतीनगरमा आशिकाका ससुराली तर्फका हजुरबा र हजुरआमालाई पनि यसै ध्रुवे हात्तीले घरमै आक्रमण गरेर मारेको थियो । एउटै परिवारका दुई पुस्तालाई एउटै हात्तीले निशाना बनाएपछि यसलाई केवल ‘संयोग’ मान्ने कि हात्तीको ‘प्रतिशोध’, यसबारे विज्ञहरूका फरक-फरक मत सार्वजनिक भएका छन् ।

अद्भुत स्मरणशक्ति र रिसको स्वभाव
हात्तीका विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार हात्ती अत्यन्तै बुद्धिमान र संवेदनशील प्राणी हो । उहाँ भन्नुहुन्छ, ‘हात्तीले आफूप्रति नकारात्मक व्यवहार गर्ने वा चोट पुर्‍याउने व्यक्तिलाई चिन्न सक्छ र मौका मिल्दा प्रतिक्रिया दिन सक्छ । तर, एउटा पुस्ताले गरेको व्यवहारको रिस अर्को पुस्तामाथि साँध्छ भन्ने कुरा पुष्टि गर्ने वैज्ञानिक आधार भने अहिलेसम्म भेटिएको छैन ।’

डा. रामले निकुञ्जको एउटा घटना स्मरण गर्दै भन्नुभयो, ‘एक पटक एक गेम स्काउटले हात्तीलाई ढुङ्गा हानेका थिए । भोलिपल्टै त्यो हात्तीले अरूलाई केही नगरी ती स्काउटकै कोठा खोज्दै झ्याल फुटाएर सामान फालेको थियो । यसले हात्तीमा रिस र स्मरणशक्ति प्रवल हुन्छ भन्ने देखाउँछ ।’

संयोग कि निश्चित निशाना?
राष्ट्रिय निकुञ्जमा लामो अनुभव सँगाल्नुभएका हात्तीविज्ञ डा. नरेन्द्रमानबाबु प्रधान हात्तीले रिस राख्न सक्ने सम्भावनालाई स्वीकार गर्नुहुन्छ, तर १४ वर्षपछिको घटनालाई प्रतिशोध नै हो भनेर ठोकुवा गर्न गाह्रो हुने बताउनुहुन्छ । केही सीमित घटनाका आधारमा हात्तीले पुस्तौँसम्म वैमनस्यता राख्छ भन्नु हतारो हुने उहाँको तर्क छ ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन यो घटनालाई भौगोलिक संयोगका रूपमा पनि हेर्नुहुन्छ । उहाँका अनुसार बोटे परिवारको माडी र भरतपुर दुवैको बसोबास हात्ती हिँड्ने परम्परागत बाटो (करिडोर) मा पर्छ । ‘हात्तीले बाटो र स्थान सम्झने क्षमता राख्छ । आफ्नो बाटोमा पर्ने अवरोध वा आफूलाई हानि पुर्‍याउन खोज्नेलाई उसले आक्रमण गर्न सक्छ ।’ पुन भन्नुहुन्छ ।

तालिम र व्यवहारको अनुभव
हात्ती प्रजनन एवं तालिम केन्द्र सौराहाका प्रमुख मणिपुरण चौधरी हात्तीको स्वभाव स्वभावैले रिसाहा र संवेदनशील हुने बताउनुहुन्छ । घरपालुवा हात्तीले समेत वर्षौँसम्म दुःख दिने माउतेलाई अवसर पाएपछि आक्रमण गरेका उदाहरणहरू प्रशस्त छन् । ‘तालिम दिने क्रममा वा सामान्य अवस्थामा पनि आफूलाई नराम्रो गर्ने व्यक्तिलाई हात्तीले सम्झिरहन्छ ‘  उहाँको अनुभव छ ।

हात्तीको स्मरणशक्ति र आफूप्रति गरिएको व्यवहार बुझ्ने क्षमताका बारेमा संसारभर अध्ययन भइरहेका छन् । ध्रुवे हात्तीले बोटे परिवारमाथि गरेको यो दोहोरो प्रहारले हात्तीको ‘साइकोलोजी’ बारे नयाँ बहस छेडिदिएको छ । विज्ञहरूबीच प्रतिशोधको अवधि र पुस्तान्तरणबारे मतैक्य नभए पनि एउटा कुरामा भने सबै सहमत छन्, हात्तीलाई जिस्क्याउनु, दुःख दिनु वा उसको प्राकृतिक बाटोमा अवरोध खडा गर्नु मानव जीवनका लागि सधैँ जोखिमपूर्ण हुन्छ। बोटे परिवारको यो दुखान्तले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा थप गम्भीर हुन सङ्केत गरेको छ ।