धुर्मुस सुन्तली फाउण्डेशनको मेची महाकाली अभियान

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली अभियान शुरु हुनेभएको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको घरदैलो अभियान यही चैत्र १० गतेदेखि शुरु हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिएका छन्। रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको पनि धुर्मुसको भनाई छ।

चैत्र १० गते देखि कंचनपुर बाट सुरु हुने अभियानमा प्रत्येक जिल्लामा २ दिन सम्म बसेर त्यहाँ रहेका सहयोगी मन, संघसंस्था , बितिय संस्थाहरु, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूहहरु र स्थानीय सरकारसंग हातेमालो तथा सहकार्य गरिनेछ ।

यो घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससंगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल ( जिग्री), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ताहरु निगम हुमागाई , अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहेन भएका छन ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताए । साथै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वितिय संस्थाको नाममा , उद्योग , विद्यालय , क्याम्पस , लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिने पनि धुर्मुसले भनेका छन्।