त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

maitrinews

काठमाडौं । मंगलबार शुरु भएको त्रिदेशीय कप फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले कीर्गिस्तानको २३ वर्षमुनिको टिमलाई १–० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । बंगलादेशका फरवार्ड साद उद्दिनको क्रस गरेको बलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमानले आफ्नै पोष्टमा गोल गरे । उनले क्लियर गर्ने प्रयास गर्दा बल आफ्नै पोष्टमा गोल हुन पुगेको थियो ।

कीर्गिस्तानका कप्तान समेत रहेका गोलकिपर तोकोताएभ एर्जानले बल रोक्ने अवसर नै पाएनन् ।

फरवार्ड मेहदी हसन तथा डिफेण्डरद्वय रिमोन होसेन रहबीबुर रहमान सोहागले पहिलो पटक बंगलादेशी टिमबाट खेलेका थिए । नियमित कप्तान जमल भुईयन सोमबार मात्रै नेपाल आएकाले मंगलबार उनले दोस्रो हाफमा मात्र खेले । उनको अनुपस्थितिमा सोहेल रानाले ५५ मिनेटसम्म बंगलादेशको कप्तानी गरेका थिए ।

दोस्रो हाफमा बंगलादेशले गोलको अवसर पाएपनि फिनिसिङ गर्न सकेन । पहिलो हाफमा बंगलादेश हाबी बनेको थियो ।

इन्जुरी समयको अन्त्यतिर कीर्गिस्तानका तासिएभ कामोलिदिनले फ्रि हेडरमा गोल गर्न सकेनन् । बंगलादेशको राष्ट्रिय टिमले कीर्गिस्तानलाई पहिलो पटक हराएको हो । यसअघि दुई देशको सिनियर टिमबीच चार खेल भएकोमा चारै खेल कीर्गिस्तानले जितेको थियो ।

पहिलो खेल जित्दै बंगलादेश फाइनल नजिक पुगेको छ । अब दुबै टिमले नेपालसँग खेल्नुपर्नेछ । तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आयोजना गरेको यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बिहीबार कीर्गिस्तानसँग खेल्नेछ ।