नेपाल फाइनलमा बंगलादेशसँग भिड्ने

maitrinews

 

काठमाडौं । उपाधि भिडन्त सोमबार हुँदैछ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो । बिना गोल नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

यसअघि बिहीबारको खेलमा नेपालले कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग पनि गोलरहित बराबरी खेलेको थियो । नेपालले गोल गर्न नसके पनि महत्वपूर्ण एक एक अंक बटुल्दै तीन टिम बीचको भिडन्तमा दोस्रो स्थान हासिल गर्दै फाइनलमा पुगेको हो ।

बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १–० ले हराएको थियो । कीर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस्तो थियो शनिबारको बंगलादेशविरुद्धको खेल
दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । नेपालले २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केही माथिबाट बाहिरिएको थियो ।

३७ औं मिनेटमा मोहम्मद इमोनको हेडर नेपालका दिनेश राजवंशीले गोललाइनको ठीक अगाडिबाट क्लियर गरेका थिए । ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सहजै बचाएका थिए ।

६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिषेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । मिडफिल्डर संजोक राई, त्रिदेव गुरुङ र डिफेन्डर निशान खड्काले डेब्यु गरेका हुन् ।

विजेताले पाँच हजार अमेरिकी डलर पाउने छ ।

गोलविहीन नेपालको खराब रेकर्ड
शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालले खराब तथ्यांक बनाएको छ । नेपाली टिम लगातार ७ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन बनेको हो ।

नेपालले गोल गर्न नसकेको ६ सय ५८ मिनेट भएको छ । नेपाली टिम समग्रमा ८ खेलमा गोलविहीन बनेपनि कीर्गिस्तानको २३ वर्ष मुनिको टिम भएकाले अन्तर्राष्ट्रिय खेल नमानिएको हो ।