कोरोनाको दोस्रो खोप वैशाख ७ देखि ११ गतेसम्म
काठमाडौं । कोरोनाको दोस्रो खोप वैशाखमा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा। जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताउनुभयो ।
जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउने छन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथीका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तीहरुले खोप लगाउने उहाँले बताउनुभयो ।
चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।