मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

 

अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो ।

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो ।
मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, ुपृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो ।
हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।
प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

नासाको ुमार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै इन्ज्युनिटी मिसनले मंगल ग्रहको पातलो वायुमण्डलमा पहिलो उडान भर्दै इतिहास रचेको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।

मंगल ग्रहमा पर्सिभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टरको रोभरबाट केही साताअघि सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छोएको थियो । अघिल्लो साता नै यसको टेस्ट फ्लाइट गर्ने भनिए पनि प्राविधिक कारणले केही ढिलाइ भएको थियो । अल्बना राज्यको एक हाइस्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।

मंगल ग्रहमा यो हेलिकप्टरको मिसन ३० दिनको छ । नासाले यसअघि जारी गरेको विज्ञप्ति अनुसार यसले ५ वटा पावर फ्लाइट गर्ने जनाएको थियो । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबोटिक उडान हुने वस्तु निर्माण गर्नका लागि इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।

यो हेलिकप्टरमा दुई वटा क्यामेराबाहेक अन्य उपकरण छैनन् । गणतीय ुअल्गोरिदमुहरु भएकाले यो हेलिकप्टरले पृथ्वीबाट कमान्ड दिएपछि मंगल ग्रहमा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ ।

मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुनसक्‍ने बताइएको छ ।