बैशाखभर सिन्धुपाल्चोकका विद्यालय बन्द नहुने

काठमाडौं। सरकारले देशभरका विद्यालय तथा शिक्षालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेपनि सिन्धुपाल्चोकका विद्यालय भने बन्द नहुने भएका छन्। सोमबार सिन्धुपाल्चोकको चौतारामा कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले आयोजना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन समन्वय बैठकले सिन्धुपाल्चोकमा रहेका विद्यालयहरु वैशाख मसान्तसम्म खुल्लै राख्ने निर्णय गरेको हो।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘२०७८ वैशाख मसान्तसम्म सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरी तत्पश्चात विद्यालय बन्द गर्ने। उक्त बैठकमा सभामुख अग्नि सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।’
सभामुख सापकोटा समेत उपस्थित रहेको बैठकमा यस्तो निर्णय भएपछि चौतर्फी आलोचना भएको छ।

कोरोना १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैशाख १२ गतेको निर्देशक समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालय भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने निर्णय गरेको थियो। सरकारले गरेको निर्णय सभामुख सापकोटाले आफ्नै जिल्लामा अवज्ञा गरेको भन्दै सापकोटाको आलोचना भएको छ।