फेरि प्रधानमन्त्रीमा केपी शर्मा ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन्।

वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका ओली बिहीबार साँझ ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपतिले प्रधानमन्त्री पदमा दावीका लागि तोकेको समय सीमाभित्र कसैको पनि दाबी नपरेपछि संविधानको धारा ७६ को (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन्।