महिलाले गरिन् मरेको रिहर्सल
चिली । कोरोना महामारीका कारण संसारभर लाखौँ मानिसको मृत्यु भइसकेको छ । मानिसहरुलाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे परिरहेको छ । तर यही बेला चिलीकी एक महिला भने कोरोनाबाट भएका मृत्युबाट यति धेरै प्रभावित भइन् कि उनले आफ्नै मृत्युको रिहर्सल गरिन् र अन्तिम संस्कार समेत गरिन् । ती महिलाले आफ्ना सबै साथीहरुलाई बोलाइन् र आफ्नो योजनाका बारेमा बताइन् । अनि उनले एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर आफ्नो अन्तिम संस्कारको कार्यक्रम गरिन् । यो कार्यक्रम गर्ने सेन्टियागो निवासी ५९ वर्षीया मायरा अलोन्जो हुन् ।
अलोन्जोले पछिल्ला दिनहरुमा कोरोनाबाट भइरहेका मृत्यु देखेर आफ्नो अन्तिम संस्कार गर्ने बारेमा सोचेकी थिइन् । त्यसपछि उनले आफ्नो अन्तिम संस्कारको रिहर्सल गर्ने अनौठो कामका लागि साथीहरुलाई मनाएकी थिइन् । अन्तिम संस्कारका बेला उनी लास राख्ने बाकसमा केही घण्टा सुतेकी थिइन् । उक्त बाकसलाई उनले एक दिनका लागि भाडामा लिएकी थिइन् । मायराको नक्कली अन्तिम संस्कारका बेला उपस्थित उनका परिवारजन तथा साथीहरुले पनि नक्कली आँसु बगाएका थिए ।