बाढीपहिरोबाट तहसनहस भयो मनाङ

बाढीपहिरोबाट तहसनहस भयो मनाङ

मनाङ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।

असार ४ गते नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न जाँदा अलपत्र परेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको मनाङका डीएसपी सुवास खड्काले बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मनाङको चामे, नासोङ्ग, डिस्याङ र नार्पाभूमि गाउँपालिकाबाट बाढीका कारण समस्यामा परेका ४७४ जनालाई उद्दार गरेर सुरक्षित ठाउँमा सारिएको छ ।

मनाङ्गको चामे र नासोङ्ग गाउँपालिमा बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । ‘मुख्यतः दुईवटा गाउँपालिका सबैभन्दा धेरै प्रभावित भएका छन्’ प्रजिअ लामिछानेले भने, ‘कसैले अनुमान नगरेको प्रकोप आइलाग्यो, यस्तो बाढी मनाङमा यसअघि कहिल्यै आएको थिएन ।’

गत जेठ १४ देखि १६ सम्म परेको अविरल वर्षाले पनि मनाङ र काठमाडौंबीच सडक सम्पर्क टुटाइदिएको थियो । आइतबारदेखि बल्ल मनाङमा ठूलो पानी रोकिएको छ ।

बाढीले चामे गाउँपालिका–१ तिमाङस्थित स्याल्क्यू छहराको मोटरेबल पुल बगाएको छ । तिमाङको छहरामा रहेका दुईवटा पक्की पुल भत्काएपछि राजधानीसँगको सडक सम्पर्क जोडिन सकेको छैन । काठमाडौं र पोखरा हिँडेकालाई १७० जनालाई सुरक्षाकर्मीले तिमाङको छहराबाट उद्धार गरेर पठाएका छन् ।

सदरमुकाम चामे भएर बग्ने घट्टु खोला र स्याल्क्यु खोलामा आएको बाढी र मर्स्याङ्दीको बाढीका कारण चामेबाट मात्र ६ सय जना विस्थापित भएका छन् । विस्थापितहरुका लागि पानी, लत्ताकपडा र खाद्यान्न अभाव छ । राहत लैजाने एक मात्र माध्यम हेलिकोप्टर रहेको छ ।

सरकार, स्थानीय तह र सहयोगी व्यक्तिहरुले पठाएको राहतले विस्थापितको जीवन जेनतेन चलिरहेको बताउँछन् प्रजिअ लामिछाने । ‘जेनतेन चलिरहेको छ’ उनले भने, ‘जीवनलाई नै अप्ठेरो पार्ने अभाव छैन, सहयोगी हातहरुले हेलीकोप्टर चार्टर्ड गरेर राहत सामग्री पठाइरहनुभएको छ ।’

मनाङ सडक खण्डको करिब २५ प्रतिशत सडकमा बाढीले क्षती पु¥याएको छ । चामे र माथिल्लो मनाङको लाईफलाइन मानिने मस्र्याङ्दी पुलमा क्षति हुन नदिन सशस्त्र प्रहरीको टोलीले पुलमा अड्किएका मुढा लगायतका अवरोध हटाएका छन् ।

नासोङ्ग गाउँपालिकामा मात्र ७ वटा झोलुंगे पुल बाढीले बगाएको छ । मर्स्याङ्दी र दुधखोलाका ८ ओटा झोलुंगे पुल र दुईवटा मोटरेवल पुल बगाएको छ ।

बाढीले ५५ घरमा क्षति पु¥याएको छ । बाढीले चामे र डिस्याङ गाउँपालिकामा ७ वटा काठका पुल बगाएको छ । सुरक्षाकर्मीहरुले अस्थायी र काठे पुल हालेर सड्क खुलाउने प्रयास गरिरहेका छन् ।

हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका ट्रेकिङ रुट पनि जोखिममा परेका छन् । पहिरो र पहराका कारण ट्रेकिङ्ग रुट खतरामा रहेको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘ट्रेकिङ जान अहिले जोखिम छ, धेरै बाटोमा दलदल छ, रुखका जरा समातेर हिँड्नुपर्ने अवस्था छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *