तीन वरिष्ठ कलाकारको सम्झनामा श्रद्धाञ्जलि सभा

maitrinews

 

न्युयोर्क । हालै दिवंगत हुनुभएका नेपाली सांगीतिक क्षेत्रकका तीन बरिष्ठ कलाकारको सम्झनामा न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा श्रद्धाञ्जलि सभाको आयोजना गरी उहाँहरुप्रति श्रद्धा व्यक्त गरिएको छ ।
हिमालयन सांस्कृतिक प्रतिष्ठानव्दारा आयोजित उक्त कार्यक्रममा कलाकारहरु डा. महेशराज ठाकुर, विमल डाँगी, संगीता मुखिया चोछोन , जगदीश समाल, तिलकबम मल्ल तथा सुवर्ण शाक्यले उहाँहरुका गीत गाएर उहाँहरुप्रति श्रद्धा व्यक्त गर्नुभएको थियो । तबलमा न्हुच्छेनारायण डंगोल, हार्मोनियममा जगदीश समाल, गीतारमा हेमराज राई र बासुरीमा राम सिंहले उहाँहरुलाई साथ दिनुभएको थियो ।
कार्यक्रममा बरिष्ठ गायक अभय ढुंगेलले दिवंगत वरिष्ठ कलाकारहरु क्रमशः बरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्की, बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ गायिका लास्मित राईका बारेमा प्रकाश पार्दै उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
विश्व संगीत दिवसको अवसर पारेर गरिएको सो कार्यक्रममा न्युयोर्कस्थित गायक, गायिका, गीतकार, साहित्यकार,पत्रकारलगायतको सहभागिता थियो ।