पार्टी परित्याग गरेपछि बेदुराम भुसाल सांसद पद जाने

maitrinews

 

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालले पार्टी परित्याग गरेपछि उहाँ सांसद पनि नरहने बताउनुभएको छ ।

भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा पत्र पठाएपछि प्रमुख सचेतक भट्टराईले दल छाडेपछि उहाँको सांसद पनि स्वतः जाने टिप्पणी गर्नुभएको हो ।

‘राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नू, गराउनू, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाउनुभएको छ,’ प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन्। पार्टी परित्यागपछि उहाँ स्वतन्त्र हुन सक्नुहुन्छ, तर सांसद भइरहन सम्भव हुँदैन।’

सांसद भुसालले भने आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएका बेला राष्ट्रिय सभा सदस्य बनेको र २०७७ फागुन २३ गते सर्वोच्च अदातलले उनीहरू मिलेर बनेको नेकपा भंग गरेकाले आफूले स्वतन्त्र सांसदको मान्यता पाउनुपर्ने माग गर्दैै आइतबार संसद् सचिवालयमा पत्र पठाउनुभएको हो ।