बाढीले गाडी बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता
पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित तीन जना सवार गाडी बाढीले बगाएको छ।
मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे गाडी बगाउँदा त्यसमा सबार तीन जना बेपत्ता भएका पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।
‘राति करिब ११ बजे खोला पार गर्ने क्रममा उहाँहरुलाई बाढीले बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, ‘रातिदेखि नै बेपत्ता यात्रु र गाडीको खोजी भइरहेको छ। तर, अझै फेला पार्न सकिएको छैन।’ प्रजिअ खत्री, डिएसपी शिवराज बुढाथोकीसहितको टोली अहिले घटनास्थलमै छ। सुरक्षाकर्मी र स्थानीयबासी बिहानैदेखि बेपत्ताको खोजीमा जुटेका छन्।
निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडिमा इन्जिनियर राजाराम आचार्य, गाडीका चालक र एक जना स्थानीयबासी सबार थिए।