सेयर बजारमा दोहोरो अंकको गिरावट: १२ उपसमूह राताम्मे, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ, २१ साउन । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा ओर्लिएको छ।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.६२ अंकले घटेर ४६४.७३ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट सूचक १.०३ अंक र सेन्सेटिभ फ्लोट सूचक ०.९१ अंकले ओरालो लागेका छन्। बजार घटे पनि कारोबार रकम भने करिब साढे ४ अर्ब माथि कायम भएको छ। आज दिनभरिमा कुल १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँमा खरिदबिक्री भएको छ।

आज कारोबार भएका कुल १३ उपसमूहमध्ये केवल एक उपसमूहको सूचक मात्र बढ्दा बाँकी १२ वटा उपसमूहमा गिरावट देखिएको छ। नेप्सेका अनुसार, बढ्ने कम्पनी ६४, घट्ने कम्पनी २०२, र स्थिर रहेका कम्पनी १० छन् ।

बजारमा गिरावट आए पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो मुनाफा आर्जन गरेका छन्। आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर र एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताहरू सर्वाधिक कमाउने सूचीमा रहेका छन्।

यता, एलएस होरिजन, मेगा म्युचुअल फण्ड र लक्ष्मी भ्यालु फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरूले भने आज सबैभन्दा धेरै गुमाएका छन्। २०२ वटा कम्पनीको सेयर मूल्य घट्दा आज समग्र लगानीकर्ताको सम्पत्ति (बजार पूँजीकरण) मा समेत संकुचन आएको छ।