हराएका प्राचीन मूर्ति अमेरिकामा फेला

maitrinews

 

काठमाडौँ । भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् ।

नेपालबाट चोरिएका र हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो । लस्ट आर्ट्स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको छ । श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् । गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको बताउनुभयो ।

येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर चर्चा गरिएको छ । वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड ९लन्डन० ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् । मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्‍याएको देखिन्छ । येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ । कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन ।